भोजपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरले निर्माण गर्न लागेको शैक्षिक अनुसन्धान केन्द्र भवनको शिलान्यास भएको छ । भवनको आइतवार पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटि सदस्य शेरधन राईले शिलान्यास गर्नुभयो ।
२०६१ सालमा संगठनको नेतृत्वले सदरमुकाम नजिकै भोजपुर नगरपालिका वडा नम्वर ८ पोखरे क्षेत्रमा तीन रोपनी एक आना तीन पैसा दुई दाम जग्गा खरिद गरेको थियो । सोही जग्गामा कोशी प्रदेश सरकारले बिनियोजन गरेको २५ लाख रुपैयाको लगानीमा ठेक्का प्रक्रिया मार्फत भवन निर्माणको कार्य सुरु हुन लागेको हो । भवन शिलान्यासमा आफ्नो धारणा राख्नु हुँदै पूर्वमुख्यमन्त्री राईले प्रदेश र जिल्लाकै शैक्षिक थलोकारुपमा बिकास गर्न निर्माणाधिन अनुसन्धान भवनको प्रयोग जरुरी रहेको बताउनुभयो ।
शिक्षकको प्रशासनीक मात्र नभएर जिल्लामा क्रियाशिल सवै शिक्षकहरुको साझा थलोकारुपमा बिकास गर्दै भवनलाई शैक्षिक अनुसन्धान केन्द्र बनाउनु पर्नेमा राईको जोड थियो । उहाँले अहिले बिकास निर्माणका कार्य हुन नसकेको हल्ला तथा भ्रम फिजाउँदै आइएको बताउँदै थुप्रे बिकास निर्माणका कार्यहरु हुदै आएको बताउनुभयो । राजनीतिक स्थायीत्व जरुरी रहेको पनि पूर्वमुख्यमन्त्री राईको धारणा छ ।
सोक्रममा कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले अलपत्र रहेका योजनाहरु पुरा गर्न प्रदेश सरकार प्रयत्नरत रहेको बताउनुभयो । राज्यमन्त्री राईले प्रदेशमा सुरु भएका योजनाहरु पुरा गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो ।
भवन निर्माणका लागि जिल्लाका नौ वटै स्थानीय तहसँग पनि बजेट माग गरिएको छ भने संगठनमा आवद्ध शिक्षकहरुबाट समेत ८ लाख रकम भवन निर्माणका लागि संकलन भएको छ । प्रदेश सरकारको बजेटबाट बन्ने भवन हस्तान्तरण भएपछि अन्य संकलन भएको रकमबाट थप भवन निर्माणको प्रक्रिया अगाडी बढने संगठनका जिल्ला अध्यक्ष धुर्वराज रेग्मीले बताउनुभयो ।






