भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको आठौं जिल्ला सभा सकिएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सभाको शुक्रबार उद्घाटन गर्नु भएको थियो ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले समितिबाट सम्पादन गरेको कार्य तथा अनुगमन प्रतिवेदन सम्वन्धी प्रस्ताव जिल्लासभामा पेश गर्नु भएको थियो । प्रमुख थुलुङले पेश गर्नु भएको बिभिन्न ११ वटा प्रस्तावहरु सभामा छलफल गरी पारित गरिएको थियो । प्रस्तावहरुमा क्रशर उद्योग संचालन, खानी संचालन तथा सम्भाव्यता अध्ययन, प्राङगारीक मल उद्योग, शिक्षा क्षेत्र सुधार, बाँदर नियन्त्रण लगायतका बिषयहरु उल्लेख थिए ।
सोक्रममा पालिका प्रमुख तथा उपप्रमुखहरुले शिक्षा क्षेत्रमा देखिएका समस्या, बाँदर नियन्त्रण हुन नसक्दा कृषकले ब्यहोर्नु परेको समस्या लगायतका बिषय उठाउनु भएको थियो । जिल्लासभामा भोजपुरका दुई नगरपालिका र सात गाउँपालिका प्रमुख तथा उपप्रमुखको सहभागिता हुने भएपनि सबै पालिकाको सहभागिता थिएन ।
सोही अवसरमा मुल्यांकनका आधारमा उत्कृष्ट भएका जिल्लाको रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकालाई सम्मानपत्रबाट सम्मान समेत गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङको अध्यक्षता भएको सभामा प्रदेश प्रमुख पर्शुराम खापुङ सहित कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राई, पूर्वसंबिधानसभा सदस्य लक्ष्मी परियार, पालिका प्रमुख तथा उपप्रमुखहरु, समन्वय समितिका पदाधिकारीहरु, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता