झापा । नेपाली कांग्रेसका नेता, कार्यकर्ताले पार्टीमा रुपान्तरण जरुरी रहेको धारणा व्यक्त गरेका छन् । झापाको धुलाबारीमा आयोजित झापा-१ को क्षेत्रीय भेलामा बोल्ने अधिकांश नेता कार्यकर्ताले यस्तो बताएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले पार्टीलाई सशक्त बनाउने चिन्ता कार्यकर्तामा रहेको बताउँदै अधिकार माग्ने मात्रै होइन, खोज्न र खोस्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले युवालाई नेतृत्वमा पुर्याउन सके युवामा आस जाग्ने र पार्टी रुपान्तरण हुने दाबीसमेत गर्नुभयो ।
जिल्ला सभापति देउकुमार थेवेले केन्द्रीय कार्यक्रमलाई सञ्चालन गर्ने मात्रै होइन, जिल्लाले काम गर्दा टोलसम्मकै क्यालेन्डर तयार पारेर जिम्मेवार दिएको र काम गरिरहेको बताउनुभयो । सभापति थेवेले पार्टीले दिएको जिम्मेवारी पूरा गर्नसके पार्टीका धेरै समस्या हल हुने स्पष्ट पार्नुभयो । उहाँले विगतमा क्रियाशील सदस्यता वितरण दुरुपयोग भएका कारण शतप्रतिशत नवीकरण नहुने तथ्य प्रस्तुत गर्नुभयो ।
कोशी प्रदेश सदस्य विमल आचार्यले पार्टी तल्लो तह र गाउँसम्म जाने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । नेताहरुले लिएको पद अनुसार जिम्मेवारी पूरा नगरेको उहाँको आराेप थियो ।
अर्का प्रदेश सदस्य शोभा नेम्वाङले महिलालाई प्रतिनिधिमुलक रूपमा संकुचित गरेर प्रमुख नेतृत्वमा लान पार्टी नेतृत्वले नचाहेको आरोप लगाउनुभयो । पार्टीमा महिलाले राखेका सुझावको कार्यान्वयन नहुने गरेको उहाँको गुनासो थियो।
क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले दासत्व स्वीकार्न नसक्ने व्यक्तिको कांग्रेसको राजनीतिमा भविष्य नभएको टिप्पणी गर्नुभयो।अहिले कांग्रेस कार्यकर्तामा अन्योल रहेको उहाँको तर्क छ । उहाँले समग्रमा आधा सदस्यले मात्रै क्रियाशील सदस्यता नवीकरण गरेको तथ्यांक प्रस्तुत गरेर पार्टीको वास्तविक अवस्थाका बारेमा प्रष्ट्याउनु भएको थियाे ।
महासमिति सदस्य राम कट्टेलले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो नै भन्न सक्नुपर्ने धारणा राख्नुभयाे। उहाँले गुटउपगुटको अन्त्य हुनै पर्ने नत्र पार्टी थप कमजोर हुने बताउनुभयो ।
कांग्रेस मेचीनगर सभापति सुदय पनेरु (सुवेश) के का लागि क्रियाशील सदस्य ? किन नवीकरण गर्ने ? भन्दै प्रश्न गर्नुभयो । सर्वसम्मतका नाममा लोकतान्त्रिक अभ्यास गर्न नदिने काम पूर्णरूपमा रोकिनु पर्ने उहाँको भनाइ थियो ।
अर्का वक्ता शेरबहादुर रायले पार्टीको अबको बाटो नयाँ हुनुपर्ने धारणा राख्दै पार्टी नेतृत्वमा रहेकाहरूसँग विश्वास हराएको, जनप्रतिनिधि र सांसदहरुको कार्यसम्पादनमा पार्टीको भविष्य निहित रहेको बताउनुभयो ।
तस्तै कृष्ण आचार्यले विगतमा कांग्रेसले हँसिया हथौडामा भोट हालेको र भविष्यमा सूर्यमा भोट हाल्नुपर्छ भनेर क्रियाशील सदस्यता नवीकरण कम भएको बताउनुभयो।
हर्क फियाकले संविधान संशोधन गर्दा पार्टी स्पष्ट हुनुपर्ने र सरकार परिवर्तन हुने कुरा रोकिनु पर्ने माग गर्नुभयो ।
त्रिभुवन चौधरी, शरद शिवाकोटी , ध्रुव कनाल, देवेन्द्र गौतम , भूमी पौडेल , लालबहादुर धिमाल , सूर्यप्रकाश उप्रेती, गोविन्द लम्साल, प्रज्वल कार्की, वेदनिधी खनाल, चेतनाथ भट्टराई लगायतले कांग्रेस तल्लो तहमा नबिग्रेको बताउँदै माथिल्लो तहमा सुधार आवश्यक रहेको बताउनु भयो ।
उहाँहरुले नेताले आत्माआलोचना गर्ने बेला आएको र जनसम्पर्क बढाउन ढिलो भएको सुझाव राख्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता