खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले १९ जना पाठेघर खसेका महिलाहरुको पाठेघरको सफल शल्यक्रिया गरिदिएको छ ।
गाउँपालिकाको आयोजना, बनेपाको शिर मेमोरियल अस्पतालको आर्थिक, प्राविधिक सहयोग तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको समन्वयमा उनीहरुको शल्यक्रिया गरिदिएको हो ।
गाउँपालिकाको पहल, अस्पतालको आर्थिक र प्राविधिक सहयोग तथा प्रतिष्ठानको समन्वयमा गाउँपालिकाबाट बस रिजर्भ गरेर ३३ जना महिला अस्पताल पु-याइएकोमा १९ जनाको सफल शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी राम प्रसाद आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार सोमबार ६ जना र मंगलबार १३ जनाको पाठेघरको शल्यक्रिया गरिएको हो ।
अन्य १४ जनामध्येमा एकजनाको मुटुको समस्या भएको, दुईजनामा सुगरको समस्या देखिएको, एकजनामा रक्तचापको समस्या देखिएको र अन्यको सेकेण्ड डिग्री पाठेघर खसेकाले औषधि उपचार गराएर घर फर्काइएको छ ।
गाउँपालिकाले मंसिर २ गते सूचना जारी गरेर पाठेघर खसेका महिलाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा चेकजाँच गराई स्वास्थ्यकर्मीबाट शल्यक्रियाका लागि सिफारिस गरी माग्न आग्रह गरेको थियो ।
शल्यक्रियामा जाने महिलाहरुलाई मंसिर ७ गते गाडी रिर्जभ गरेर साँझमा अस्पताल पु¥याईएको थियो । विरामीको कुरुवाको यातायात खर्च र शल्यक्रिया गर्नुपर्ने महिलाहरुका लागि भोजन र आवासको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । “गाउँपालिका महिलाहरुको समस्याको समाधानमा छौ । जति सक्छौ गर्छौ, गर्ने प्रयास गरिरहने र्छौ।” अध्यक्ष राईले भन्नुभयो ।






