झापा । झापाको पुरानो बजार धुलाबारीको मुख्यक्षेत्रमा सडक अतिक्रम गरी बनाइएका भौतिक संरचनामा मेचीनगर नगरपालिकाले डोजर चलाएको छ । बिजुलीको पोल र तारको जालो हटाइएको छैन ।
विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुने भएपछि अतिक्रमित संरचना छिटो हटाउन नगरपालिकाले सुरु गरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । पूर्वपश्चिम राजमार्गको धुलाबारीमडबाट उत्तरतर्फ शिव तथा शनि मन्दिरसम्मको पूर्वतर्फको अतिक्रमित संरचना मंगलबार हटाइएको छ ।
मेचीनगर १०को धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घरटहरा नगरपालिकाले हटाएको नगर प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । अहिले कायम रहेको सडकको बीच भागबाट दुबैतर्फ ६ र ६ मिटर चौडा गरिनेछ ।
विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तरगत धुलाबारी बजारबाट पाँच दशमलव तीन किलोमिटर सडक चौडा गरिँदै छ । सहिदमार्ग नामाकरण गरिएको सडक २७ करोड २१ लाख, तीन हजार ९३१ रुपैयाँमा कालोपत्रसहित स्तरोन्नति गरिँदै छ ।
सडक १२ मिटर चौडाइ, दुई लेन र ड्रेनसहितको हुनेछ । सडकको पूर्वपश्चिम दुबैतर्फ पक्की घर र पसल वर्षौं अघिदेखि सञ्चालनमा छन् । आज बिहानदेखि नगर प्रहरीसहित डोजर ती संरचना हटाउन परिचालन गरिएको हो। धुलाबारीमोडदेखि उत्तर खुट्टिडाँगीसम्मका दुबै तर्फका अतिक्रमित सबै संरचना हटाइने छ । सो क्षेत्र मेचीनगर ९ र १० मुख्यबजार क्षेत्र हो ।
नगरपालिकाले डोजर प्रयोग गरेपछि घरधनी तथा व्यवसायीले आफ्ना घर पसलका सामान धमाधम सारिरहेका छन् । कतिपय व्यवसायीले आफैँ संरचना हटाउने सोच बनाएपनि अतिक्रमित भौतिक संरचना छिटो हटाउनु पर्ने भएपछि डोजर प्रयोग गर्नु परेको नगरपालिकाले जनाएको छ ।
विगतमा सडक बिस्तार हुने चर्चासँगै व्यवसायी भौतिक संरचना हटाउन खासै राजी देखिएका थिएनन् । तर, नगरपालिकाले डोजर नै परिचालन गरेपछि व्यवसायीले भौतिक संरचना हटाउन सहयोग गरेको देखिएको छ । कुनैबेला हङकङ बजारको नामले चर्चा कमाएको धुलाबारी बजार क्षेत्रको सडक साँघुरो र जीर्ण बनेकोले पनि व्यवसायी सडक चौडा गर्न सहजै सहमत भएका हुन् ।
धुलाबारी कांग्रेस महामन्त्री तथा झापा १ का संघीय सांसद विश्वप्रकाश शर्माको गृहनगरसमेत हो । विगतमा नै उहाँले क्रमागत विकास निर्माण अन्तरगत पनि सो सडक निर्माणका लागि बजेटको प्रबन्ध गर्न आफू लागिपर्ने विश्वास दिलाउनु भएको थियो । सांसद शर्माले क्रमागत विकास निर्माण अन्तरगत करोडौं रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा बजेटको प्रबन्ध गरेकोले पनि व्यवसायी आश्वस्त बनेका हुन् ।
सँगै धुलाबारीमोडबाट दक्षिण तर्फको बजार क्षेत्रसहित भद्रपुरसम्मको ९ किलोमिटर सडक गतवर्ष नै कोशी प्रदेश सरकारले गौरवको मुख्यपरियोजना कालोपत्रे गरेपछि उत्तर तर्फका व्यवसायी अतिक्रमित भौतिक संरचना हटाउने नैतिक दबाबमा थिए ।






