क्यासेटदेखि युट्युबसम्म छाएका प्रल्हाद

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 10 mins

बागलुङ । प्रल्हाद सुवेदी, यो नाम करिब दुई दशकदेखि रेडियो, टेलिभिजनलगायत विभिन्न सञ्चार माध्यममा सुनिदै आएका नाम हो । गीत संगीतमा चासो दिनेले नसुन्ने त झन् कुरै भएन । वि.सं. २०६१ सालदेखि सुनिदै आएको यो नाम अहिले पनि उत्तिकै सुनिन्छ । नामै नसुने पनि उहाँले लेखेका सयौँ गीत त पक्कै सुनेको हुनु पर्छ । त्यो नाम नसुने पनि ‘नजाउ है सानु पँधेरीमा’, ‘सितल दिने पिपल समीछ’, ‘माया हाँसेको’, ‘खेतमा बोके झार’, ‘बरबर आँसु झर्ने बेलैमा’, ‘जोगीको भेसैमा’, ‘मायालु आजैलाई’, ‘जलजला’, ‘मिस्री खानेलाई’, ‘नजरैले’ लगायत यस्तै थुप्रै गीत पक्कै सुनेको हुनु पर्छ । यिनै गीतका रचना तथा संगीतकार हुनुहुन्छ प्रल्हाद सुवेदी ।

पर्वतको कुश्मा नगरपालिका-१ पाङ निवासी सुवेदी दुई दशकदेखि अनवरत रुपमा नेपाली गीत संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले रचना र संगीत गरेका गीत क्यासेट, टेपरेकर्डरका पालादेखि अहिलेको डिजिटल माध्यम युट्युवसम्म छाई रहेका छन् । सुवेदीका कयौँ गीत त युट्युवको करोड क्लबमा समेत परेका छन् । धौलागिरी पेरिफेरीमा जन्मेर हुर्किनु भएका सुवेदी सानैदेखि गीत गुनगुनाउने गर्नुहुन्थ्यो । वनखापामा होस् या खेतबारीमा, मेलापर्वमा होस् या मेलापातमा उहाँले गीत नगाएको पलनै हुँदैन्थ्यो । गाउँको विद्यालयबाटै विद्यालय शिक्षा सकाउनु भएका सुवेदी वि.सं. २०६० साल ताका बागलुङ बजार झर्नु भयो । बागलुङ बजार झरेपछि उहाँलाई गीत संगीत प्रतिको मोह झन् बढ्यो ।

स्नातक तहको पढाईका पाङबाट बागलुङ जिल्ला सदरमुकाम झर्नु भएका सुवेदी गीत संगीतसँगै साहित्यीक माहोलमा रमाउन थाल्नु भयो । उहाँले बागलुङमा साथीहरु पनि त्यही क्षेत्रमा चासो लाग्नेहरु भेट्याउनु भयो । जसले उहाँलाई सांगीतक क्षेत्रमा लाग्न प्रेरित गर्‍यो । बागलुङ गलकोटका गायक विष्णु खत्रीबाट प्रभावित सुवेदीले उहाँबाट पनि हौसला पाउनु भयो र आफ्नो लेखन यात्रालाई अगाडि बढाउनुभयो । रेडियो नेपालमा गायक खत्रीसहित बमबहादुर कार्की, लोकबहादुर क्षेत्री लगायतको गीत सुनेपछि सांगीतक क्षेत्रमा लाग्ने इच्छा जागेको सुवेदी बताउनुहुन्छ ।

“उति बेला अहिलेको जस्तो प्रबिधिको विकास भएको थिएन, हामीहरुले रेडियो नेपालबाट गीत सुन्ने गथ्र्यौँ, क्यासेटको जमाना पनि अल्ली पछाडि आएको हो, विष्णु दाईको धेरै गीत सुनेर हुर्किएको हुँदा उहाँले पनि हौसला दिनुभयो, हामी ९ मा पढ्ने बेला टेपरेर्कडरको जमाना आयो क्यासेट सुन्न थालियो,” उहाँले भन्नुभयो - “२०६० सालपछि धमाधम रेडियो खुल्न थाले बागलुङमा पनि रेडियो खुले त्यसपछि गीत संगीत सन्न थप सजिलो भयो, त्यसभन्दा पहिला गाउँ घरमा मेलापात गर्दा गाउँकै भाका सुनियो, गुनगुनाउने गरियो, भजन गाउने गरिन्थ्यो ।”

यसै पनि धौलागिरी क्षेत्र लोक गीतका लागि प्रख्यातनै छ । त्यसमाथि यस क्षेत्रबाट धेरै कलाकार गीत संगीतमा लागेको हुँदा उनीहरुबाट सुवेदीलाई पनि संगीतमा लाग्ने प्रेरणा मिल्यो । वि.सं. २०६० सालमा काठमाडौँ जानु भएका सुवेदीका केही गीत बागलुङ छँदै सार्वजनिक भएका थिए । पर्वतकै गायक याम क्षेत्रीले गाएको स्वरमा ‘लाइयो माया पढ्ने बेलैमा’ गीत २०६१ साल तिर बजारमा आयो । त्यसपछि गायक बसन्त थापासँगको सहकार्यमा ‘मायाको भोको छु’ गीत बजारमा ल्याएपछि सुवेदीले कहिल्यै पछाडि फर्किनु परेन । त्यसपछि आफू निरन्तर संगीत क्षेत्रमा लागरि रहेको बताउनुहुन्छ ।

ADVERTISEMENT

उहाँ भन्नुहुन्छ - “मेरो पहिलो गीत ‘लाइयो माया पढ्ने बेलैमा’ हो, त्यसपछि ‘सिरीसिरी हावा बहुन्जेल’ यिनै गीतबाट मेरो सांगीतक यात्रा सुरु भएको हो, मलाई ‘सिरीसिरी हावा बहुन्जेल’ले अल्लि बढी चिनायो, लोक गीत त हाम्रो धौलागिरी क्षेत्रमा रेकर्ड गर्न पर्दैन्थ्यो, धेरै गीत गाउँ घरमा गाउने गरिन्थ्यो, बमबहादुर दाई, लोकबहादुरु दाईहरुका धेरै गीत सुनिन्थ्यो, उहाँहरु कहाँ-कहाँको हो ?, यसरी काठमाडौँ गएर गीत गाउँला, रेकर्ड गरौँला भन्ने त सोचेकै थिएन, पछि काठमाडौँ गएपछि यो क्षेत्रमा लागियो ।”

सुवेदीले आफू पर्वतमा जन्मिए पनि धेरै कुरा बागलुङसँग जोडिएको भन्दै र गीत संगीतमा लाग्न पनि बागलुङले प्रेरित गरेको बताउनुहुन्छ । अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातक गर्नु भएका सुवेदीले वि.सं. २०६१ सालदेखि औपचारीक रुपमा संगीत क्षेत्रमा लागेको सुनाउनुभयो । उहाँले उति बेला आफ्नो संगत गायक याम क्षेत्री, वसन्त थापा, कुलेन्द्र विश्वकर्मा भएको स्मरण गर्नुभयो । आफ्ना साथीहरुले गीत गाउन तर्फ बढी ध्यान दिए पनि आफू सिर्जनामै लागेको सुनाउनुभयो ।

सुवेदीले अहिलेसम्म ३०० बढी गीतको रचना गर्नु भएको छ भने केही गीतमा संगीत र केहीमा स्वराङ्कन समेत गर्नु भएको छ । गाउने र संगीत भर्नेमा भन्दा बढी रचनामै रमाउन चाहने सुवेदीलाई बाहिर देखिन त्यत्ति मन छैन । “म संगीत क्षेत्रमा नदेखिने गरि गीत लेखे, धेरैलाई गायकलेनै गीत बनाएर गाउँछ भन्ने लाग्छ, सर्जकहरु बाहिर आउनुभन्दा आफ्नै सिर्जनामा लाग्छन्, मलाई पनि बाहिर देखिनुभन्दा रचनामै लाग्न रुचि लाग्छ ।”

आफूले संगीत क्षेत्रमा लागेपछि अन्य कुनै पेसा नअंगालेको भन्दै सकुन्जेल रचनामै लाग्ने उहाँले बताउनुभयो । आफुले चारै तिर गीत संगीत देख्ने सुनाउनुभयो । धेरै चर्चित कलाकारहरु धनका लागि विदेश पलायन भए पनि निरन्तर मेहनत गरे यस क्षेत्रबाट परिवार पाल्न र जीविकोपार्जन गर्नका लागि समस्या नभएको उहाँ सुनाउनुहुन्छ । सुवेदीले बजारमा आउने हरेक गीतहरु सुन्ने नसुन्ने जिम्मा दर्शक स्रोताको हातमा रहेको बताउनुभयो । नराम्रो गीतका भिडियो कसैले नर्हेन र नहुन्ने गरे कसैले पनि त्यस्ता खालका गीत बजारमा नल्याउने उहाँको भनाइ छ ।

“म फूल टाइमर गीतकार हो, जतिबेला पनि गीत संगीत लेख्ने हो, गीत संगीतमा लागेर करोडौँ कमाउन त नसकिला तर आफ्नो जीविका जलाउन चाहीँ पुग्छ, मलाई यो छोड्नै मन लाग्दैन, गीत संगीत छोडेर अन्तै गए धेरै कमाउन त सकिएला तर सन्तुष्टि मल्दिैन,” सुवेदीले भन्नुभयो - “अबका मेरा गीतहरु मानवीयता बोकेका हौन् भन्ने छ, केही भजनहरुका गीतमा काम गर्न मन छ, बालगीतहरु पनि लेख्न मनछ, केही समाजका लागि गीत लेख्न मन छ, मैले आफूलाई अभिव्यक्त गर्न सकेकै थिएन, गीतले समाज बोल्नुपर्छ, प्रकृति बोल्नु पर्छ, दुःख, पीडा बोल्नु पर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?