काठमाडौं । बाल गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । सामाजिक सञ्जालमा भाइरल गायकका रूपमा चिनिनुभएका सचिनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो । परिवारका अनुसार स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा आईसीयूमा राखेर उपचार गरिए पनि उहाँको स्वास्थ्यमा सुधार आएको थिएन ।
सचिनका बाबु तेजेन्द्र परियारले युट्युब अन्तर्वार्तामा छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आउनुभएको थियो । सचिन सानैदेखि शारीरिक रूपमा कमजोर हुनुहुन्थ्यो । निमोनियाका कारणले सचिनको निधन भएको अस्पतालले जनाएको छ ।
भाइरल बाल गायकका रूपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् । सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गर्नुभएको थियो भने हास्य शृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गर्नुभएको थियो । ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उहाँले गाएका गीत रुचाइएका छन् । सचिन २०७७ सालपछि चर्चामा आउनुभएको थियो ।
हंसमुख शैलीमा उहाँले बोलेको ‘के छ हजुर..’ भन्ने मीठो थेगोबाट भाइरल हुनुभएको थियो । यो थेगोलाई प्रयोग गरेर लाखौं टिकटक बनेका थिए । त्यसयता उहाँको कलाकारिता पनि सुरुवात भएको थियो । कलाकारितामा उहाँ भाइरलमात्रै हुनु भएन सबैको रोजाइमा पर्न थाल्नुभएको थियो । उहाँको बाल वाक्शैलीले अनायाशै ओठमा मुस्कान छरिदिन्थ्यो । बाल कोपिलका रूपमा चर्चामा आउनुभएका सचिनको जीवन फक्रिन नपाउँदै अस्ताएको छ । परियारप्रति हिटा परिवार भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछ ।
प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारलाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा फेसबुकमार्फत गायक परियारलाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएरमात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जलि ।’
सचिनको निधनमा थुप्रै कलाकारहरूले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् । यस्तै, गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भन्नुभएको छ । गायक परियारले उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लेख्नुभएको छ, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तो नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जलि सचिन तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछु ।’






