खोटाङ । जिल्ला अस्पताल खोटाङको ५० शैयाँको भवन अलपत्र पार्ने ठेकेदार अन्ततः हायलकायल भएर कार्यस्थल फर्केका छन् । भवन ठड्याएर बाँकी काम नगरी सम्पर्क बिहीन बनेका श्याम सुन्दर/रामसागर/नेपाल फूलवारी जेभी अनामनगर काठमाडाैंका प्रतिनिधि संजिब कट्वाल र राजेश कटवाल कार्यस्थल फर्केका हुन् ।
गत पुषदेखि भवन अलपत्र पारेपछि कार्यस्थल फर्केका ठेकेदारलाई साउन २७ गते जिल्ला समन्वय समितिमा अधिकारीहरुसँग राखेर कार्यतालिका बनाई भवनको काममा पठाईएको छ ।
कार्यतालिका अनुसार सिभिलवर्क, आरसीसी सडक ढलान, सेफ्टी ट्याङकी, मेशिनरी काम, साइड डेभ्लोमेन्ट र पाटेसन भदौ ३० गतेसम्म, आल्मुनियमका झ्यालढोका, टायल र फल्स सिलिङ असोज ३० गतेसम्म र विधुत, प्लम्बिङ, लिफ्ट जडान र रंगरोगनको काम कार्तिक ३० गतेभित्र गरिसक्नु पर्नेछ ।
३० महिनामा भवन बनाईसक्ने गरी २०७८ असार २४ गते सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगासँग भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँमा सम्झौता गरेको जेभीले सम्झौता अनुसार २०८० पुषमा भवन बनिसक्नु पर्थ्याे तर, भवन मात्रै बनाएको ठेकेदारले अन्य केही काम गरेका छैनन् ।
सम्झौता म्याद गुजारेर पहिलो पटक ११ महिना थपेको म्याद पनि आउने मंसिर २९ गते सकिदैछ । म्याद सकिनै लाग्दा ठेकेदारलाई पक्राउ गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रहरीलाई पत्रचार गरेपछि र सघन शहरीले ठेकेदारको २ करोड ५ लाख ५० हजार बैंक जमानत तान्न साउन २३ गते कृषि विकास बैंक चाबहिल काठमाडाैंलाई पत्र काटेपछि फर्केका ठेकेदार कार्यतालिका अनुसार काम गर्ने मुडमा पुगेका हुन् ।
भवनको भौतिक प्रगति ७० प्रतिशत र आर्थिक प्रगति ६७ प्रतिशत भएको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर मनिष यादवले बताउनुभयाे । निर्माण कम्पनीले जेठसम्म १५ करोड २७ लाख ४५ हजार ५६६ रुपैयाँ बजेट लगिसकेको यादवकाे भनाइ छ ।
जेठको बिल भुक्तानीमा ढिलाई हुँदा आर्थिक संकट परेकाले काममा केही ढिलाई भएको जेभीमध्येका नेपाल फूलवारी सेवा प्रालिका प्रोपाइटर राजेश कटवालले बताउनुभयाे । 'बनाईएको कार्यतालिका भन्दा अगाडी काम सकेर मन जित्न चाहान्छौ । काम गरेको प्रमाण त अहिले कसरी पेश गर्ने हामी गर्दै जान्छौ हजुरहरु आउँदै जानुहोस ।' कटवालले भन्नुभयाे, “कामका लागि जे बोलेका र्छौ त्यो पूरा गर्छौ ।”
जिल्लाको एकमात्र १५ शैयाको सरकारी अस्पताललाई सरकारले स्तररोन्नती गरी ५० शैयामा परिणत गर्दैगर्दा निर्माण कम्पनी र ठेकेदारले भवन निर्माणको काम अन्तिम अवस्थामा आएर अलपत्र पारिदिँदा बिरामीलाई सेवा दिनमा थप कठिनाई भईरहेको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रुपेश संग्रौलाले बताउनुभयाे ।
ठेकेदारको प्रतिवद्धता अनुसार कार्यतालिका बनेको र यसलाई निरन्तर निगरानी गरेर समयमा काम सम्पन्न गराउन एक नम्बरमा पहल कदमी गरिने जिल्ला समन्वय समिति प्रमुख एवंम् अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष सन बहादुर राईले बताउनुभयाे । ‘अहिले मुख्य ठेकेदार आएर कार्यतालिका बनाएका छन् । काम सक्नेमा आशावादी छौ । हप्ता-हप्तामा कामको निगरानी गर्छौ । काम हुनेमा आशावादी हौ।’
भवनको काम सम्पन्न नभएसम्म दबाव र निगरानी निरन्तर गर्ने कोशी प्रदेशसभा सदस्य भुपेन्द्र राईले बताउनुभयाे । कालले छोड्ला तर..ले नछोड्ने भन्दै ठेकेदारप्रति इंगित गर्दै राईले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएकाे छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा