भोजपुर । भोजपुरमा नागरिक आरोग्य कार्यक्रमअन्तर्गत सदरमुकाममा नागरिक आरोग्य अभियान सुरु भएको छ । योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ यो अभियान थालिएको कर्मचारी मिलन केन्द्रका सचिव प्रकाश खड्काले बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा कर्मचारी मिलन केन्द्र भोजपुरको सहकार्यमा सुरु भएको नागरिक आरोग्य अभियानले कर्मचारीका साथै जिल्लावासीलाई नागरिक आरोग्य कार्यक्रमबारे अवगत गराउन सहज हुने केन्द्रका सचिव खड्काको भनाई रहेको छ । स्वस्थ जीवनशैली, आयुर्वेद र योगका बिषयमा सहजीकरण गर्नका लागि पनि अभियान प्रभावकारी हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका मनोज पण्डितले जानकारी दिनुभयो । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्रले यो अभियान संचालन गर्दै आई रहेको छ ।
आयुर्वेदिक तथा वैकल्पिक चिकित्साको प्रयोग तथा दैनिक जीवनमा गरिने खानपान, त्यसले स्वास्थ्यमा पार्ने असर र कस्तो जीवन अपनाए उपयोगी हुन्छ, सर्ने रोग र नसर्ने रोगबाट कसरी बच्ने भन्ने विषयमा सुसूचित हुन जरुरी रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु कुमार श्रेष्ठको भनाई रहेको छ । समुदाय स्तरमा संचालन गरिने यस्ता कार्यक्रमहरु प्रभावकारी देखिने प्रमुख श्रेष्ठको धारणा छ ।
अभियानअन्तर्गत प्रत्येक दिन बिहान योग अभ्यासका साथै स्वस्थ जीवनशैलीका बिषयमा परामर्शसमेत हुने भएकाले कार्यक्रम प्रभावकारी हुने जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला आयुर्वेद संचालक समितिका अध्यक्ष कमल थुलुङ राईले बताउनुभयो । राईले भन्नुभयो, “पछिल्लो समयमा मानिस खान नजानेर अस्वस्थ बन्दै गएका छन, हरेक नागरिकले शारीरिक व्यायामसँगै खानपानमा ध्यान दिनु पर्छ ।” स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता