खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम संशोधन गर्ने भएको छ । तत्कालिन मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईको कार्यकालबाट लागू गरिएको ‘दिरुम ज्ञानमाला’ नामको स्थानीय पाठयक्रमलाई वर्तमान नेतृत्वले संशोधन गर्ने तयारी गरेको हो ।
नगर कार्यपालिकाको वैठकका मुख्य-मुख्य निर्णय सार्वजनिक गर्दै १८ माघमा बसेको कार्यपालिका बैठकले स्थानीय पाठयक्रम संशोधन गर्ने निर्णय गरेको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । नगरपालिकाले नगरभित्रका कक्षा-१ देखि कक्षा-५ सम्मका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठयक्रम ‘दिरुम ज्ञानमाला’ लागू गरेर पठनपाठन गराएको थियो।
सुरेश हाचेकाली, रमेश निरौला र जिचेन स्याङतानद्धारा लिखित तथा प्राचार्य केशव सुवेदी र प्राज्ञ शशी लुमुम्बुले सम्पादन गरेको ‘दिरुम ज्ञानमाला’ पाठयक्रम निर्माण कार्यदलमा देवविक्रम राई संयोजक थिए। राईको संयोजकत्वमा शिक्षक जेनी राई, बेदीकुमार राई, कृष्ण बहादुर राई, पदम बहादुर विष्ट क्षेत्री थिए। ‘दिरुम ज्ञानमाला’को कम्प्युटर-कला सुरज वान्तवा राई तथा चित्र मनिष राई र रवि बस्नेतले तयार गरेका थिए ।
शैक्षिक सत्र २०७८ बाट लागू भएको ‘दिरुम ज्ञानमाला’को कक्षा-१ देखि कक्षा-५ सम्म “हाम्रो वातावरण र जैविक विविधता, हाम्रा रीतिरिवाज र प्रथा-परम्परा, हाम्रा आयआर्जनका क्रियाकलाप, सामाजिक चेतना तथा सेवा प्रवाह, स्वास्थ्य, व्यक्तित्व विकास र नैतिकता, खेलकुद र मनोरञ्जन” भएको छ वटा विषयसूचिभित्र सम्पूर्ण स्थानीय विषयवस्तु राखेर किताब तयार गरिएको थियो ।
स्थानीय पाठयक्रम संशोधनका निम्ति कार्यपालिकाको वैठकले जालपाका वडाध्यक्ष एवंम् सामाजिक विकास समिति संयोजक दान बहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । तर, अन्य चारजनाको नाम भने टुंगो लागेको छैन । नाम टुंगो लागेपछि उक्त समितिले वैठक बसेर के-के विषय थप गर्ने र संशोधन गर्ने भन्ने निर्णय गर्छ । श्रोतले भन्यो, ‘गीतसंगीत, चित्रकला, नैतिक शिक्षा थप हुन सक्छ ।’
दिरुम ज्ञानमालामा कतिपय पाठहरु थप्नुपर्ने, वास्तविक विषयवस्तु समावेश गर्नुपर्ने, कतिपय भाषिक त्रुटिहरु छन्, त्यसलाई मिलाउनुपर्ने र समय सन्दर्भ अनुसार परिमार्जन गर्ने उद्देश्यले स्थानीय पाठयक्रम संशोधन गर्ने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराईले बताउनुभयो । मेयर भट्टराईका अनुसार संशोधन गरिएको स्थानीय पाठयक्रम आगामी शैक्षिक सत्र(बैशाख)देखि लागू हुनेछ ।
ज्ञानमाला किताबको आवारणमा राखिएको ठेगानामा प्रदेश नं. १ भनिएको छ । तर, गएको १७ गतेको प्रदेशसभाले प्रदेशको नाम कोसी प्रदेश राखिसकेको छ ।
यसैविच, कार्यपालिका वैठकले नगर शिक्षा नियमावलीको नियम २७ को उपनियम (ङ) मा वडाभित्रका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको हाजिरी प्रमाणित गर्ने अधिकार वडा शिक्षा समितिलाई भएकोमा सो व्यवस्था हटाई नियमावली संशोधन गर्ने भएको छ ।
वडा शिक्षा समितिले हाजिरी प्रमाणित गर्ने व्यवस्थालाई हटाई नियमावली संशोधन गर्ने प्रस्ताव नगरसभामा लैजाने कार्यपालिकाले स्वीकृत गरेको छ । कार्यपालिकाले यसको निर्णय गर्न सक्दैन । मेयर भट्टराईले भन्नुभयो, ‘नगरसभाले स्वीकृत गरेमा पास हुन्छ । गरेन भने फेल हुन्छ । पहिला जे थियो त्यही हुन्छ । स्थानीय पाठयक्रम परिवर्तन गर्ने अधिकार चाँहि कार्यपालिकालाई छ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts