‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व’

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

झापा । खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ । झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उहाँले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको हो ।

मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीसँग छलफल गर्दै मन्त्री यादवले स्थानीयस्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ ।”

मन्त्री यादवले झापाको मेचीनगरमा चारआलीस्थित साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित काँकरभीट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गर्नुभएको थियो । उहाँले स्थानीय तहमा भएका सकारात्मक कार्यको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारका क्रममा देखिएका चुनौती समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

ADVERTISEMENT

मन्त्री यादवले जिल्लामा निर्माण भइरहेका दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको पनि अवलोकन गर्दै परियोजनाहरूले झापा र आसपासका क्षेत्रका नागरिकलाई स्वच्छता र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्न सरकार सक्रिय रहेको भन्दै व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारीसहित सुधारका लागि आफू कटिबद्ध रहेको बताउनुभयो । मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज खानेपानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल सरकार नागरिकको जीवनस्तर उकास्न खानेपानी र सरसफाइ सेवा सुधार्न दृढ छ । स्रोतसाधन परिचालन गरी समयमा निर्माणाधीन परियोजना सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।”

झापाका उपभोक्ता संस्थाहरूका पदाधिकारीले मन्त्री यादवको सक्रियतालाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै जिल्लामा निर्माणाधीन खानेपानी परियोजनालाई समयमा सम्पन्न गर्न ऊर्जा थपेको प्रतिक्रिया दिनुभएको थियो । मन्त्री यादवको भ्रमण पश्चात् स्थानीय नागरिकले स्थायी र गुणस्तरीय खानेपानी सेवा प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज