झापा । नेकपा (एकीकृत समाजवादी) को ९३ सदस्यीय केन्द्रीय कमिटीमा झापाबाट मात्रै एकजनाको प्रतिनिधित्व भएको छ ।
पार्टीको पोलिटब्युरोबाट केन्द्रीय सदस्यमा झापाका भाष्कर काफ्ले पर्नु भएको पार्टीका झापा अध्यक्ष वेदराज रेग्मीले बताउनुभयो । काफ्ले केही वर्ष अघि मात्रै ताप्लेजुङबाट झापा आउनु भएको नेता हो ।
उहाँ झापा अर्जुनधारा नगरपालिका निवासी हुनुहुन्छ । कम्युनिष्टहरुको आधारभूमि मानिने झापाबाट तत्कालका लागि नेकपा एसको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने एक्लो नेता बन्नुभएको छ ।
सिपी मैनाली नेतृत्वको नेकपा (माले) को विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अनेरास्ववियुको केन्द्रीय अध्यक्ष समेत भइसक्नु भएको काफ्ले यसअघि पनि नेकपा एसको पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।
चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा काफ्ले एमाले अध्यक्ष ओली समूह विरुद्ध केन्द्रीय सदस्यमा उम्मेदवार बन्नु भएको थियो । त्यसबेला उहाँले पराजित मध्ये सर्वाधिक मत ल्याउनु भएको थियो । एमाले १० औँ महाधिवेशन सकिएको चार महिनापछि उहाँ एमाले छाडेर नेकपा एसको पोलिटब्युरो सदस्य बन्नु भएको थियो ।
माले परित्याग गरेर एमालेमा प्रवेश गर्दा काफ्लेलाई सो पार्टीले केन्द्रीय सदस्य र ताप्लेजुङको इञ्चार्ज बनाएको थियो । उहाँले सात वर्षसम्म एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
चितवन महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित काफ्लेलाई एमालेले सल्लाहकार परिषदमा थन्क्याइएपछि रुष्ट भएर नेकपा एसमा प्रवेश गर्नु भएको थियो । आंशिक नेतृत्व चयन गर्दै काठमाडौंमा सम्पन्न महाधिवेशनले काफ्लेलाई केन्द्रीय सदस्य बनाएको हो ।
सो पार्टीले २९९ सय सदस्यीय केन्द्रीय कमिटी बनाउने भने अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय केन्द्रीय कमिटी बनाएर महाधिवेशन हिजो टुङ्ग्याएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता