इलाम । इलाममा यतिबेला उपनिर्वाचनको सरगर्मी बढेको छ । नेता शहर केन्द्रित भाषणमा ब्यस्त भइरहँदा मतदाता भने आफ्ना काममै ब्यस्त देखिएका छन् ।
इलाम सदरमुकामसहित आसपासका क्षेत्र निर्वाचन केन्द्रित कार्यक्रमले भरिभराउ देखिन्छ । उम्मेद्वारी दर्ता गराएका दल र स्वतन्त्र उम्मेद्वारले आम सभा र कोणसभासँगै घर दैलो अभियानलाई तिब्रता दिइरहेका छन् । कुनै राजनैतिक दल र उम्मेद्वार आफ्ना एजेण्डा राख्दै मतदाता आकर्षित गरिरहेका छन् । सदरमुकाममा मात्रै नभएर गाउँ वस्तीका टोल टोलमा आयोजना हुने आमसभा, कोणसभा र मतदाता भेटघाट आदीमा उम्मेद्वार सँगै तिनलाई सघाउन आएका विभिन्न दलका शिर्ष नेतृत्व पनि यी र यस्तै एजेण्डा पस्किइरहेका भेटिन्छन् ।
तर यता आम सभा र कोण सभालाई प्रतिष्ठाको विषय बनाँउदै दलहरु एक अर्का विच आरोप प्रत्यारोपमा व्यस्त रहेपनि बजार भन्दा टाढा बस्तीमा रहेका मतदाता आफ्नै काममा ब्यस्त देखिन्छन् । उम्मेद्वारका भाषण र आरोप प्रत्यारोप नसुनेपनि इच्छाएको दल र उम्मेद्वारालाई भोट दिने धारणा बनाएका उनीहरु आफ्नै काममा रमाइरहेका छन् ।
अहिलेको उपनिर्वाचन हुने क्षेत्र भनेको इलाम सदरमुकामसहित जिल्लाको पश्चिमी क्षेत्र हो । यो क्षेत्र भुगोलका हिसाबमा विकटता छ । यहाँसम्म आइपुग्ने सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । यति मात्र हैन स्वास्थ्य सुविधा नहुँदा उपचार गराउन झापा सम्म पुग्नु पर्छ भने विकास र पुर्वाधारको पहुँच अझैपनि निकै टाढा छ । यहि पिडाका कारण पनि हुनसक्छ मतदातामा उपनिर्वाचनको खासै रौनक छाएको छैन तर ग्रामिण वस्तीका मतदातामा मताधिकार प्रयोग गर्नुपर्छ भन्ने चाही राम्रो ज्ञान देखिन्छ ।







