भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर १,याङपाङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अस्थायी प्रहरी पोष्टको प्रहरीे प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्र कुवेर खापुङले मंगवलार उदघाटन गर्नुभयो ।
पुरानो वडा कार्यालयको भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । प्रहरी हवल्दार प्रेम कुमार तुम्बापोको नेतृत्वमा प्रहरी ब्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले बताउनुभयो ।
जिल्ला सुरक्षा समितिले प्रहरी पोष्ट स्थापनाका लागि पठाएको माग स्वीकृती भएर आएपछि प्रहरी पोष्ट स्थापना भएको हो । अन्य प्रहरी पोष्ट भन्दा टाढा रहेका कारण सो क्षेत्रमा स्थानीयले प्रहरी युनिटको माग गरेका थिए । प्रहरी पोष्ट स्थापनासँगै याङपाङ र आसपासका नागरिकले शान्ति सुरक्षाको प्रत्याभुति गर्ने भएकाले सोही अनुसार प्रहरी कर्मचारीले काम गर्नु पर्ने प्रहरी प्रवक्ता डिआइजी ढकालले बताउनुभयो ।
प्रहरीबाट नागरिकले गरेका अपेक्षा अनुसार शान्ति सुरक्षा सुदृढ गर्ने कार्यमा लाग्न चौकीमा खटिएका प्रहरीहरुलाई डिआइजी ढकालले निर्देशनसमेत दिनुभयो ।
मुलुकमा शान्ति सुरक्षा कायम गराउन नेपाल प्रहरीले भुमिका निर्वाह गरि रहेको बताउँदै प्रवक्ता डिआइजी ढकालले बिकास र प्रबिधिको बिकाससँगै अपराधका घटनाहरुमा बृद्धि हुदै गएकाले यस तर्फ नागरिक पनि सचेत रहन जरुरी रहेको बताउनुभयो । बिगत २० बर्ष भन्दा अगाडी नचिनेका समुहबाट अपराधीक घटनाहरु हुदै आएकोमा अहिले ८० प्रतिशत भन्दा बढी अपराधहरु चिनजानको पक्षबाट हुने भएकाले प्रहरीसँगै नागरिक पनि सजग हुन जरुरी रहेको प्रवक्ता डिआइजी ढकालको भनाई छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक खापुङले नागरिकले प्रहरी चौकीको माग गर्नु प्रहरीको सफलता भएको बताउनुभयो । प्रहरी पोष्टहरुको संख्या घटने भन्दा पनि बढदै गएको देखिएको बताउँदै प्रदेश प्रहरी प्रमुख खापुङले अस्थायी प्रहरी पोष्टहरुलाई स्थायी बनाउन स्थानीय सरकार र नागरिकले पनि सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
जिल्ला सुरक्षा समितिले ग्रामीण क्षेत्रमा पनि प्रहरी पोष्टहरु आवश्यक देखेकाले सोही अनुसार याङपाङमा पनि अस्थायी प्रहरी पोष्ट स्थापना भएको भन्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले नागरिकमा सुरक्षाको प्रत्याभुति दिलाउन आवश्यक रहेको बताउनुभयो । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले प्रहरी पोष्ट स्थापनापछि शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिका भित्र रहेको अन्य वडाहरुमासमेत प्रहरी पोष्ट आवश्यक देखिएको बताउँदै पालिका भित्र इलाका प्रहरी कार्यालय स्थापनाका लागि पहल थाल्न जरुरी रहेको पनि बताउनुभयो ।
प्रहरी पोष्ट स्थापनासँगै याङपाङवासीमा उत्साह देखिएको छ । प्रहरी चौकी स्थापनासँगै शान्ति सुरक्षासँगै सुशासनमा पनि सहजता हुने स्थानीयवासी तिर्थ महतले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता