झापा । शुक्रबार साँझ झापाको धुलाबारीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पैदलयात्रीको पहिचान खुलेको छ ।
दुर्घटनामा मृत्यु भएका व्यक्ति इलामको रोङ गाउँपालिका-३ कोल्बुङका ५५ वर्षीय इन्द्रबहादुर गुरुङ भएको प्रहरीले जनाएको छ । मृतकका छोरा शुक्रराज गुरुङले विएण्डसी अस्पताल बिर्तामोडमा आएर बुबाको राति सनाखत गरेसँगै पहिचान खुलेको हो ।
चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो पार गर्ने क्रममा मेचीनगर नगरपालिका १० धुलिखेलमा गुरुङलाई ठक्कर दिएको थियो । गम्भीर घाइते गुरुङको विएण्डसी अस्पताल बिर्तामोड पुर्याउनसाथ मृत्यु भएको थियो ।
मोटरसाइकल चालक मेचीनगर नगरपालिका-७ का ५२ वर्षीय गणेश राजवंशीसमेत घाइते भएका छन् । हातखुट्टा र अनुहारमा चोट लागेका राजवंशीको विएण्डसी अस्पतालमा उपचार भइरहेको झापा प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने मोटरसाइकल धुलाबारी प्रहरीले नियन्त्रणमा लिएको छ ।






