विस्तारै भए पनि असलको लत नछुट्ने किसिमले लागेपछि तीव्र गतिको खराबको लतसमेत निष्क्रिय हुन्छ । पराजित हुन्छ । कमजोर हुन्छ । वियोगी बुढाथोकी एउटा त्यस्तै स्रष्टत्वको नाम हो । काठमाडौँकै चार दिवारभित्रको तत्कालीन काँठको कुनामा जन्मिएर हुर्किएको यो व्यक्तित्व आफ्नै खालको अहंसँग लुकामारी खेल्दै अगाडि बढेको बढिरहेको स्रष्टत्व हो । सम्पूर्ण वातावरण अनुकुल भएर पनि तदनुसार विद्युत् झड्काझैँ करेण्ट सञ्चरण गर्नचाहिँ नसकेकै स्रष्टाका रूपमा लिन्छु म वियोगीलाई ।
तीसकै दशकदेखि साहित्यिक महलको मुस्कान टुक्टुकाउँने वियोगी न्वारानमा सीतारामका नाममा टाँसिएका रहेछन् । यो त मैले उनको सत्तरी वयबेलामा निस्केको-‘वियोगी व्यक्ति र कृति’ पढेपछिमात्र थाहा पाएँ । सीमित क्षेत्र शिवपुरी आसपासलाई नै बढी महत्व दिएर झुम्नु यिनको अर्को त्रुटिपूर्ण विशेषता ठान्छु म । अर्को त यिनी बेलामौका र शरीरले साथ दिएका खण्डमा सुरा घ्याम्पोमै डुब्नुलाई जीवनको सर्वस्व मान्छन् । यो पनि उनको त्रुटिपूर्ण विशेषतामा नै आउँछ । यिनले जतिसुकै वकालत गरुन् यिनका यी दुई लतले यिनलाई साहित्यिका उचाइको तीन सिँढी तलै राख्न सफल भएका छन् ।
युवालहडमै शिवपुरी सन्देश पत्रिका वियोगीले सुरु गरे । छाड्दा हुने कहालीलाग्दो त्रासदी यिनलाई साहित्यिक क्षेत्रमा निरन्तरता दिने बलवान कडी बन्यो । नत्र यिनी कुन् बेला कहाँ पुग्थे भन्न सकिन्नथ्यो । बीपी विचारको अतीतस्तम्भ–लेखकसङ्घसँग मोहनी र आबद्धता वियोगी साहित्यलेखन निरन्तरताको अर्को कडीका रूपमा पाउँछु म ।
असंयमित, असन्तुलित, अनियन्त्रित मनोद्वेगको उपज साहित्य हुन सक्दैन । हुन्छ भनेर अतीतका उदाहरणमा रम्नु आत्मरतीको समयकटान मात्र हो । साँघुरो क्षेत्रीयता पनि चौडा साहित्यिक विस्तारका लागि हानीकारक नै हो । स्वीकारुन् वा नस्वीकारुन् वियोगी कदलाई धरोहर चुम्नबाट रोक्ने यी अवगुणका संस्कारले उनी सुरुदेखि जकडिए । मैले एकपटक बागबजारको सडक छेउमा उभिएर गफिदा उनलाई प्रत्यक्षमै भनेको पनि हुँ । स्वीकारोक्तिका सन्दर्भमा उनले नसक्ने कुरा पनि स्पष्ट पारेकै हुन् ।
युवालहडमै शिवपुरी सन्देश पत्रिका यिनले सुरु गरे । छाड्दा हुने कहालीलाग्दो त्रासदी यिनलाई साहित्यिक क्षेत्रमा निरन्तरता दिने बलवान कडी बन्यो । नत्र यिनी कुन् बेला कहाँ पुग्थे भन्न सकिन्नथ्यो । बीपी विचारको अतीतस्तम्भ-लेखकसङ्घसँग मोहनी र आबद्धता वियोगी साहित्यलेखन निरन्तरताको अर्को कडीका रूपमा पाउँछु म । नत्र यिनी जागिरकै चौडा जञ्जिरमा निस्कनै नसक्ने गरी जकडिन्थे ।
सत्तरी वयसाँझको अस्ताचलतिर लाग्दा सोह्रवटा विविध विधा/उपविधाका कृतिहरू प्रकाशित छन् यिनका । सामान्य बाँच्नाकै लागि विद्रोह गर्नुपर्ने नेपाली स्रष्टाका लागि यो महत्तम उपलब्धि हो तर वियोगीको जन्मस्थल, आर्थिक अवस्था र प्राप्त वातावरणीय अवस्थालाई हेर्ने हो भने नेपाली साहित्यको यो प्राप्ति निकै कम र स्रष्टा वियोगीको योगदानलाई नगन्यमात्र मान्छु म । उनी यो बेला चौडा साझा साहित्यिक संस्था खोलेर खुट्टा तान्नेलाई पनि माथ गर्दै समग्र साहित्यिक चेतनाको छहारी बन्न सक्नु पथ्र्यो, खोइ ? सम्मान/पुरस्कार आफूले थाप्ने नभई सारालाई दिने हैसियतमा उभिनु पथ्र्यो, खोइ ?
मुक्तक, गजल, गद्यकविता, निबन्ध, अझ बढी यात्रासंस्मरणका गरी सोह्रवटा कृति प्रकाशक वियोगी आफ्ना हरेक रचनाभित्र देशलाई बढी केन्द्रित गर्दछन्, देशप्रेमलाई लेखनको लप्कामा लिन्छन् । यी सबै काम त फटाहा नेताका हुन् । घुस्याहा निजामती कर्मचारीका हुन् । व्यङ्ग्यप्रहार यसै सेराफेराका व्यक्ति विशेषमा उनी गर्न रुचाउँछन् । के देश नै स्रष्टाको सीमा हो ? यिनै झ्याल्टुङे कर्मचारीहरू जो मानवीय कर्तव्यको सीमाभन्दा तल झरेर व्यक्ति र परिवारको घेरामा थुनिन्छन् तिनै कला क्षेत्रका विषय बन्नलायक मान्छे हुन् ? उत्तर सहज छ–किमार्थ होइनन् । स्रष्टाको सीमा अखण्ड विश्वब्रहृमाण्ड हो ।
स्रष्टाको एकमात्र लक्ष्य कुनै शासक, कर्मचारी वा व्यक्ति र व्यक्तिविशेषले ग्रहण गरेका धर्म, जाति, संस्कार, संस्कृति, रीतिरिवाजको परिसीमा नभएर विराट् विश्व मानवताको झल्मलाउँदो त्यो ज्योतिपुञ्ज हो जहाँ न देश हुन्छ, न व्यक्ति हुन्छ, न प्रणय हुन्छ, न गफ हुन्छन् । नभएर पनि सबै हुन्छन् अप्रत्यक्ष कलाको चामत्कारिक जादूको दुनियाँमा । त्यो चामत्कारिकता स्रष्टाको एकमात्र खोज हो । एकमात्र लक्ष्य पनि हो । एकछत्त, एकतमास, एकाम्य कलात्मक शिल्पले चुल्ठी पारेको इन्द्रेणीदार अलकापुरी ।
आफू जुन उचाइमा जसरी उठ्नुु पथ्र्यो नउठेको अभाव खड्किएर नै होला, जसरी नेपाली साहित्यफाँटमा मूल्याङ्कित हुनुपथ्र्यो नभएको भावाभासले नै होला वियोगीले आफ्नै पत्रिका शिवपुरी सन्देशमार्फत तीन सय चौरासी पृष्ठको निकै ठूलो आकारको–‘व्यक्ति वियोगी र कृति’ सत्तरीऔँ जन्मसन्दर्भ मिलाएर प्रकाशनमा ल्याए । सुरुदेखि अन्तसम्म अक्षर मात्रा नबिराई हेरेँ, पढेँ, बुझेँ र नै वियोगीलाई ठोक्ने कले मानसिकताको जन्म भयो ।
केहीमात्र अग्रज, अलिकति समकक्षी बढी मात्रामा आउने पुस्ताको समायोजन यसमा रहेको छ । मित्रताका प्रभावमा, स्पष्टताका अभावमा, उत्प्रेरकका स्वभावमा अक्षर गुडेका छन् यस कृतिभरि वियोगीलाई आदर्श नायक बनाएर । व्यक्तित्वको विकास भएकालाई देखाएरमात्र होइन, सकारात्मक अनुभूतिको सङ्केत गरेरमात्र होइन, छ यो र यस्तो । हुनुपर्छ के र कस्तोको निर्भीक पाटोबाट ठोक्ने, झपार्ने समालोचकीय व्यक्तित्व नेपालमै छैनन्को अवस्था छ यो । अनिवार्य चाहिन्छ अनिमात्र नभएको व्यक्तित्वको पनि विकास हुनसक्छ सिर्जनात्मक संसारमा ।
रमाएर भिड जम्मा गरेर भीडलाई भीडकै मानसिकतामा सन्तुष्ट राख्नु साहित्यिक गहन गरिमाको उत्खनन् होइन, क्षणिक समयविलासको शारीरिक सन्तुष्टि मात्र हुन्छ यो । यस पाटोबाट अलग लेखनकै समाधिमय सन्तुष्टिमा पलेँटी कसेर कलालाई आत्म बनाउँदै शिल्पसौन्दर्यको चकाचौध मर्करी प्रकाशमा सङ्कल्पको जादू आफैँभित्र जन्माएपछि त्यसबाट निस्रित बिम्ब र प्रतीक चेतले साहित्यमा समग्र विश्व आप्लावित बन्नसक्छ । अनुरञ्जित साङ्गीतिक गुञ्जन हुनसक्छ । वियोगी लेखनमा निरन्तर छन्, यो उनमा आएको जन्मजात साहित्यिक उपहार हो । धेरै स्रष्टाहरू साहित्यलाई फुर्सदको लेखन सम्झने गलत भ्रम पाल्दछन् । त्यस्ता साहित्यकारहरू हरिलण्ठक हुन्, नहुने साहित्यकार हुन् ।
वियोगी सरल शब्दमा साहित्य लेख्ने स्रष्टा हुन् । उनका साहित्य चाहे जुनसुकै विधा उपविधाका हुन् पढ्नासाथ बुझिन्छ, घोरिनु पर्दैन । सरल शब्दमा साहित्य लेख्न निकै कठिन हुन्छ । यस कठिनाइका सम्प्रेष्य उदाहरण हुन् वियोगी । यो महत्तम विशेषता वियोगी लेखनमा छ ।
वियोगी सरल शब्दमा साहित्य लेख्ने स्रष्टा हुन् । उनका साहित्य चाहे जुनसुकै विधा उपविधाका हुन् पढ्नासाथ बुझिन्छ, घोरिनु पर्दैन । सरल शब्दमा साहित्य लेख्न निकै कठिन हुन्छ । यस कठिनाइका सम्प्रेष्य उदाहरण हुन् वियोगी । यो महत्तम विशेषता वियोगी लेखनमा छ । पेयपदार्थमा बितेको अत्यधिक समय यिनले अध्ययन, चिन्तनमननमा लगाएको भए वियोगीको साहित्यिक लेखनले लिएको निरन्तरतामा जीवनजगत्का गुरुगम्भीर गाढा दार्शनिक पक्षका पाटाले निश्चय नै प्रवेश पाउँथ्यो, मोहनी लगाउँथ्यो । यसबाट भने उनी जन्मजात वञ्चित भए, ठगिएकै छन् ।
यिनले विदेशभ्रमणको जुन अवसर आफ्नै पेरिफेरीका सौजन्यले, पारिवारिक संयोगका कारणले प्राप्त गरेका छन् त्यसलाई सङ्कल्पित भएर गाढा साहित्यलेखनमा उतार्न सके अझै उनमा त्यो समाजको सीमारहित अवस्था, साहित्यको शाश्वत सार्वकालिक झङ्कारले नेपाली साहित्यभण्डार लाभान्वित हुनसक्थ्यो, आशामात्र गर्न सकिन्छ उनीबाट । उनी चकाचौध विदेशी भौतिक आकर्षणको आकाशमुनि ओच्छिन पुग्छन् तर त्यसलाई कल्पनाकाशका माधुर्यमा इन्द्रेणीको सप्तरङ्गी अन्तराकर्षणले भान्साको पिरो धुवाँसँग मिसाएर विराट्तामा बिम्बीकृत नगरी किरिङ्मिरिङ् सडकका रेखामा आफूलाई छर्न पुग्छन् । छरिनु उनको अर्को नछुट्ने साहित्यिक विशेषता बनेको छ । गहिरिनु उनको विषयगत वैज्ञानिक विकर्षण बिन्दु बनेको छ ।
निबन्ध र यात्रा संस्मरणात्मक लेखन भनेको विन्दुमा विराट् बिच्छ्याउने लेखन हो । थोपोमा समुद्र बगाउने विषय हो । बिन्दुमा बिन्दु र थोपोमा थोपो त सामान्य आँखाले सहज रूपमा पनि देख्न सकिन्छ । यसका लागि साहित्यिक व्यक्तित्व बनिनु नै पर्दैन । हो, वियोगीलाई मुक्तक, गजल र कवितालेखनमा चाहिँ यसको प्राप्ति भएको छ, व्यङ्ग्य कवित्वचेतमा अझ बढी । यसर्थ नै उनी राष्ट्रिय/अन्तर्राष्ट्रिय, प्राकृतिक, खनिज क्षेत्रका बिम्बविधानको मजबुत प्रयोगमा प्रकाशित हुनसकेका छन् । यस क्षेत्रमा समाजको मनलाई धक्का दिएर ‘वा !’ भनाउने हिम्मतसम्ममा उनी सजिलै देखिन सकेका छन् । यो उनको अर्को दरो साहित्यिक विशेषता हो ।
समय अझै छ कलेले यस लेखमा गाली गरेका सन्दर्भलाई गम्भीर अर्थमा निरन्तरता उनमा छँदै छ, सङ्कल्प छँदै छ समाधि कसेर लेखनमा लागे भने वियोगीको सरलता जटिलतामा रूपान्तरित हुन समयले प्रतीक्षा गर्दैन । वियोगीलाई कलाको गाढा छहारी बन्न कुनै आइतबारको साइत हेर्नु आवश्यक छैन । शाश्वत र सार्वकालिक सुमधुर अन्तर साङ्गीतिक चेतनाको खोज हरेक साहित्यकारको अन्तिम सिरानी हो । आत्मरतीभन्दा इतर सामान्य जनमानसका ओठबाट-‘केही बुझिन्न’को आवाज ननिस्केसम्म सायद मूल्यको सिरानी चुम्न सकिन्न कि ? सतही रूपमासम्म वियोगीलाई बुझ्न प्रकाशित यस कृतिले गाढा वियोगी खोतल्ने दिशातिर समालोचकका ध्यान आकर्षित गरोस् मात्रको चाहना हो यो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा