काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई आ.व २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझदै मन्त्री पाण्डेले देश संघीय संरचनामा गइसकेपछि प्रदेश तथा पालिकामा समेत प्रज्ञा-प्रतिष्ठानहरू बन्नेक्रम बढेको तर यसमा केन्द्रका प्रज्ञा-प्रतिष्ठानसँगको समन्वय तथा एकरूपतामा भने ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले प्रतिष्ठानबाट थप काम र गतिशीलताको अपेक्षा गरेको सुनाउँदै यथोचित समन्वय र सहकार्य गर्दै अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको बताउँदै मन्त्री पाण्डेले ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको जिकिर गर्नुभयो । उहाँले प्रतिष्ठानले लिएका नीति तथा कार्यक्रमले देशको कला र संस्कृतिमा सकारात्मक प्रभाव पर्ने विश्वास आफूले लिएको विचार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले केन्द्रका प्रतिष्ठानहरू र मन्त्रालयका बीचमा आवश्यक सहकार्य तथा संवादलाई अझ घनीभूत बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आ.व २०८०/०८१ मा प्रतिष्ठानले गरेका राष्ट्रिय ललितकला प्रदर्शनी, प्रादेशिक ललितकला प्रदर्शनीको विस्तृत जानकारी गराउँदै प्रतिष्ठानले देशका हरेक प्रदेशमा एक-एक कला हब बनाउने योजना अनुसार रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढेको, दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिसकेको र अन्य बाँकी प्रदेशमा छलफल चलिरहेको जानकारी गराउनुभयो ।
उहाँले काठमाडौं ट्रिएनालेमार्फत नेपाली कलाको अन्तर्राष्ट्रिय पहिचान दिलाउने गरी साझेदार संस्था सिद्धार्थ आर्ट फाउण्डेशनसँग मिलेर तयारी भइरहेको पनि जानकारी गाराउनुभयो । उहाँले आ.व २०८०/०८१ मा प्रतिष्ठानले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा गरेका भित्तेचित्र, शिक्षामा सीपलगायतका कार्यक्रम तथा आगामी दिनमा गरिने कार्यक्रम, वैश्विक तापमान वृद्धिका कारण नेपाललगायतका हिमाली क्षेत्रमा परेका असर र त्यसका लागि गर्नुपर्ने कार्यका बारेमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनी, देशका विभिन्न स्थानमा गरिएका कार्यशाला, प्राज्ञिक भेला, गोष्ठी, प्रदर्शनी, कलाकार उपचार कोषलगायत विषयमा संक्षिप्त रूपमा चर्चा गर्नुभएको थियो ।
ललितकलाका क्षेत्रमा खोज, अनुसन्धानमा थुप्रै काम गर्न बाँकी रहेको बताउँदै उहाँले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको ललितकला क्षेत्रका यी विविध काम गर्न पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । सदस्यसचिव थुम्केलीले प्रतिष्ठानले एसिया स्तरको संग्रहालय बनाउनेगरी तयारी गरिरहेको जनाउँदै नेपाली ललितकलाको विकास, संरक्षण, प्रवद्र्धन तथा संवद्र्धन सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक रुपान्तरणको अभियानमा प्रतिष्ठानले विभिन्न कार्यक्रमसमेत गरेको बताउनुभयो ।
उक्त अवसरमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू सौरगंगा दर्शनधारी, संजय वान्तवा राई, अरुणा हिङमाङ, उपप्रशासन प्रमुख कमलमणि काफ्ले, लेखा अधिकृत पंकज अधिकारी एवं मन्त्रालयका विभिन्न शाखा र निकायका कर्मचारीलगायतको उपस्थिति थियो ।






