काठमाडौं । नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जित्नुभएको छ । संयोग के रहृयो भने दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गर्नुभयो । बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ४-१ ले पराजित गर्नुभयो । सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो डिलाई ५-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्नुभएको थियो ।
समग्रमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएकी स्वस्तिकाको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । स्वस्तिकाले सन् २०२१ मा दुबईमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जित्नुभएको थियो । ठमेलस्थित एभरेष्ट माविबाट प्लस टु उत्तीर्ण गर्नुभएकी सुदूरपश्चिमको कञ्चञ्पुर निवासी स्वस्तिकाले जोर्डनमा भएको एएसबिसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाउनुभएको थियो ।
सन् २०२१ बाट बक्सिङ खेल्न थाल्नुभएकी स्वस्तिकाले दुई वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण जित्नुभएको थियो । बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुनुहुन्छ । जितपछि स्वस्तिकाले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेकोमा खुसी व्यक्त गर्दै यो अवसर प्रदान गर्ने नेपाल बक्सिङ संघ र प्रशिक्षक दीपक महर्जनलाई धन्यवाद दिनुभयो ।
पुरुष ८० केजीमुनि युथमा नोर्बुले फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरलाई ३-२ ले हराउनुभयो । सेमिफाइनलमा उहाँले बहराइनका अनास अल जलाकीलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गर्नुभएको थियो । नोर्बुको भने यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । उहाँको दोस्रो अन्तर्राष्ट्रिय सहभागिता हो । कक्षा १२ मा लोयल्टी एकेडेमीमा अध्ययनरत नोर्बुले करिब एक वर्षअघि अर्मेनियामा भएको जुनियर विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउनुभएको थियो ।
पाँच खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका चार खेलाडीले पदक जिते । नेपालले समान दुई–दुई स्वर्ण र कांस्य जित्यो । पुरुष ४६ केजीमुनि रोहित जनाला तथा पुरुष ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पार्नुभयो । युनिक राईमात्र पदकविहीन बन्नुभयोे । उहाँले पुरुष ६३ केजीमुनि प्रतिस्पर्धा गर्नुभएको थियो ।






