लण्डन । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल बराबरीमा रोकिएको छ । एनफिल्डमा बिहान अमद डायलोले अन्तिम १० मिनेटमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले घरेलु टोली लिभरपुललाई २-२ को बराबरीमा रोकेको हो । युनाइटेडले सन् २०१६ पछि एनफिल्डमा जित्न सकेको छैन । तर, यो खेलबाट युनाइटेड यसपटक एक अंक लिन सफल भएको छ । एलेजान्ड्रो गार्नाचोको क्रसमा डायलोले ८०औँ मिनेटमा बललाई जाली चुमाउनुभएको थियो । जसले मोहम्मद सलाहको पेनाल्टीमार्फत् जितनजिक पुगेको लिभरपुरबाट अंक खोस्न सफल भयो ।
युनाइटेडले ५२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजको गोलमार्फत् सुरुवाती अग्रता लिएको थियो । तर, त्यसको सात मिनेटपछि लिभरपुलका कोडी गाक्पोले बराबरी गोल गर्नुभयो । सलाहले ७०औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभयो । युनाइटेडका माथियस डे लिग्टले बल हातले छोएको भन्दै भिएआरको समीक्षापछि पेनाल्टी दिइएको थियो । तर, खेलको अन्तिम समयमा गार्नाचोले डायलोलाई क्रस उपलब्ध गराउँदै खेललाई २-२ को बराबरीमा पु¥याउनुभयो ।
यसले युनाइटेडको चार खेलको हारको शृंखला रोकिएको छ । लिभरपुलले भने शीर्ष स्थानमा आठ अंकको अग्रता बनाउने अवसर गुमाएको छ । १९ खेल खेलेको लिभरपुलले ४६ अंक पुर्याएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको भने ४० अंक छ । आर्सनलले एक खेल बढी खेलेको छ । तर, अर्को खेल जितेर लिभरपुललाई अग्रता बढाउने दबाबमा हुनेछ । युनाइटेड भने २३ अंकसहित १३औँ स्थानमा उक्लिएको छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता