झापा । झापामा भएका छुट्टाछुट्टै घटनामा शुक्रबार दुईजनाको मृत्यु भएको छ । फरक घटनामा दुई वर्षीय नाबालक र एकजना भारतीय नागरिकको मृत्यु भएको हो ।
गएराति ८ बजे अर्जुनधारा नगरपालिका-६ का सवनम मस्कराका छोरा २ वर्षीय छोरा शिवम मस्कराको फलामको गेटले किचेर मृत्यु भएको हो । शिवमलाई खेल्ने क्रममा ऋषि अग्रवालको गेटले किचेर मृत्यु भएको हो । उनी आमा श्रेया अग्रवालसँग नजिकै रहेको मामाघर गएका थिए । ऋषि शिवमका मामा हुन् ।
हिजो साँझ फलामको गेटले किचेर गम्भीर घाइते शिवमको उपचारका क्रममा विएण्डसी अस्पताल आज बिहान मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
त्यस्तै बिर्तामोड नगरपालिका - ३ बिर्ताबजारमा भेन (छोटा हात्ती) को ठक्करबाट भारतीय नागरिक ६५ वर्षीय असारुलाल पानवारीको मृत्यु भएको छ ।
पानवारीलाई हिजो साँझ बिर्तामोड-भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्तामोड आउँदै गरेको मे. १ च ५९३० नम्बरको भेनले ठक्कर दिएको थियो । भारत बहादुरगञ्ज घर भई सैनिकमोडमा डेरा गरी बस्ने पानवारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आज बिहान मृत्यु भएको हो ।
ठक्कर दिने भेन र चालक कनकाई नगरपालिका-८ का ४६ वर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।






