काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएका व्यक्तिलाई सार्वजनिक सेवाको पदमा नियुक्ति लिन नपाउने गरी व्यवस्था गर्न आग्रह गरेको छ ।
कतिपय सार्वजनिक निकायले यस्तो कानुनी व्यवस्था नगरेको कारण त्यस्ता व्यक्ति नियुक्ति हुनसक्ने अवस्था कायमै रहेकाले अख्तियारले त्यस्तो आग्रह गरेको हो । त्यस्ता व्यक्तिलाई सार्वजनिक सेवामा नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्नेगरी मापदण्ड, कार्यविधि, निर्देशिका तयार गरी लागू गर्न अख्तियारको आग्रह छ ।
नेपाल सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिको हकमा मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्दाका बखत त्यस्ता व्यक्तिले विदेशी नागरिकता वा स्थायी आवासीय अनुमति पत्र लिए नलिएको यकिन गर्न, निज व्यक्ति स्वयंले सो बारे गरेको घोषणा अनिवार्य रूपमा पेस गर्न लगाउन अख्तियारले भनेको छ ।
अन्य सार्वजनिक निकायका हकमा पनि सोही बमोजिम कानुनी व्यवस्था गर्ने गराउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै निकायमा निर्देशन हुन सुझाव लेखी पठाउने भनेर आयोगले मिति २०८१/०१/१० मा नै निर्णय गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाउनुभएको छ ।
पोखरा महानगरपालिकामा छापा
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरको कार्यालयमा मंगलबार दिउँसो छापा मारेको छ । विशेष गरी महानगरले मनिपाल शिक्षण अस्पताललाई दिएको करोडौं कर छुटको बिषयमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियारले अनुसन्धानका लागि महानगरका कागजात नियन्त्रणमा लिएको छ । मनिपाललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेकाले अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान पोखराका प्रवक्ता जगदिशचन्द्र सिवाकोटीले बताउनुभयो । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायत मनिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।







Breaking news with related posts