काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको महसुस भएको स्मरण गर्नुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्ने कर्मचारी संगठनका नेतृत्वले अपमानित र हीनताबोध हुनेगरी गाली गर्ने काम भएको बताउनुभएको थियो । त्यसलाई थप प्रष्ट पार्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भन्नुभयोे, ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हीनताबोध हुनेगरी गाली पनि गरे भन्नुभयो, मैले प्रधानमन्त्रीको रूपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु ।’ उहाँले अहिले कर्मचारी र आफूहरू एउटै कित्तामा रहेको जिकिर गर्नुभयो । उहाँले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भए पनि अहिले त्यस्तो नभएको गुनासो गर्नुभयो । ‘मैले रातारात अर्बपति-करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने । अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र बिचौलियाहरूका बीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने । नियुक्ति नभए दबाब दिने जुन प्रक्रिया मैले झेलेको छु,’ प्रचण्डले भन्नुभयोे, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको बीचमा संवाद रोकिएको छ ।’
‘प्रचण्ड’ले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्नसक्ने खतराबाट जोगाइएको पनि उल्लेख गर्नुभयो । निजी क्षेत्रको साना व्यवसायीहरूको पनि सबै हिसाबकिताब अख्तियारले हेर्ने कुरा आएकोमा त्यसलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट फेल गराइएको उहाँको भनाइ छ त्यसका लागि साना व्यवसायीहरूले समितिका सभापति रामहरि खतिवडालाई पनि धन्यवाद दिनुपर्ने उहाँले बताउनुभयो । ‘निजी क्षेत्रमा अख्तियार आउन नदिने भयौँ’ हामीले । त्यो सबै मिलेर वातावरण बनायौँ,’ अध्यक्ष प्रचण्डले भन्नुभयोे, ‘यसका लागि तपाईंहरूलाई बधाई भन्न चाहन्छु, बँच्नुभयो ।’
प्रचण्डले अर्थतन्त्र कमजोर भएको बेलामा साना व्यवसायीहरूलाई सहुलियत दिनुपर्ने ठाउँमा अहिलेको सरकारले उल्टै निचोर्ने काम गरिरहेको पनि आरोप लगाउनुभयो । ’सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्ने जिम्मेवारी राज्यको हुनुपर्नेमा अझ तिनलाई निचोर्ने, तिनलाई अझै दुहुने र त्यहीँबाट आर्थिक समस्या हल गर्न खोज्ने प्रवृत्ति छ, समस्याको चुरो त्यही हो,’ उहाँले भन्नुभयो । व्यवसायीहरूले उठाएका मागहरूलाई ऐनमा व्यवस्था गर्न प्रतिनिधि सभाबाट जोडदार आवाज उठाउने पनि प्रचण्डले बताउनुभयो ।
एकपटक देशको नेतृृत्व गर्ने मन छ : विप्लव
नेकपाका महासचिव नेत्रविक्रम चन्दले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूलाई ध्रुवीकृत गर्दै यो देशको नेतृत्व गर्न चाहेको बताउनुभएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक-पटक सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा पूरा गर्न नसकेको भन्दै उहाँले अब नेकपाले देशको नेतृत्व गर्न चाहेको बताउनुभयो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भन्नुभयोे, ‘हामी नेकपाले पनि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ । एकचोटि यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ...।’
कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता जितेन्द्र दाहाललाई विप्लवले आफ्नो पार्टीमा स्वागत गर्नुभएको थियो । त्यसलाई उहाँले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूको ध्रुवीकरणको सुरुवातको संज्ञा दिनुभयो । हालै कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग ध्रुवीकरण गर्ने निर्णय गरेको जानकारी गराउँदै उहाँले उक्त कार्यक्रम त्यसकै सुरुवात भएको बताउनुभयो । माओवादी केन्द्रले पनि ध्रुवीकरणको कुरा गरिरहेको भन्दै उनले तीनपटक सरकारको नेतृत्व र पटक-पटक सत्तामा पुगेको माओवादी केन्द्रले अब जनतालाई के दिनसक्छ ? भन्ने जिज्ञासा रहेको बताउनुभया । ‘माओवादी केन्द्रले पनि ध्रुवीकरणको कुरा गरिरहेकै छ । माओवादी केन्द्रले तीनपटक प्रधानमन्त्री पाइसक्यो अथवा थुप्रै खालका अवसर पाएको छ र गणतन्त्रपछि लगातार १५ वर्ष माओवादी सत्तामा छ । तर, माओवादीले के दिन्छ ?, त्यहाँ पनि जनताका जिज्ञासाहरू छन्,’ उहाँले भन्नुभयोे । अहिले आफूहरूले सुरु गरेको ध्रुवीकरण भ्रष्टाचारका लागि नभएको उहाँले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता