कविता दूधमा चामल राखेर पकाएको मसलाविहीन खीर हो भने गीत मसलासहित मह-घ्यू मिसाएको खीर हो-सुरेश भट्ट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 23 mins

लोकसाहित्यकार सुरेशकुमार भट्ट (भट्ट सुकुमार)सँग अनेसासका वरिष्ठ उपाध्यक्ष तथा उपन्यासकार सर्वज्ञ वाग्लेले गरेको संवादको अंश:-

आजकल तपाईं  अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?
म आजकल आँखाले कति बेर साथ दिन्छ त्यति बेरमात्र पढ्छु । लेखनसँग सम्बन्धित भई अध्ययन गर्छु । भर्खरै ‘राजेस्वर देवकोटा स्मृति ग्रन्थ’ पढिसकेर त्यसको समीक्षा लेखेँ । अलिकति लामो भएछ तैपनि हिमालय टाइम्स पत्रिकाले प्रकाशनमा ल्याइदियो जसको लागि आभारी छु, पत्रिका परिवारप्रति । दैनिकी रूपमा भेटे देखेका बिम्बात्मक प्रभावले कवित्व भाव जाग्न जाँदा कविता लेखिन्छ । जस्तै उक्तक, मुक्तक, लोकवेद, हाइकु, समसामयिक विश्लेषणात्मक लेख, ऐतिहासिक सन्दर्भका लेख, लोकगीत, गीत, फुटकर कविता, स्वच्छन्द कविता, बालकविता लेख्दैछु ।

तपाईं साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?
साहित्य भन्ने बित्तिकै मेरो बुझाइमा सरस लेखन हो भन्ने लाग्छ किनकि साहित्यमा मेरो बुझाई नै ‘स रस इति साहित्य’ हो । पाठकको भित्री मन छुन सक्ने रस विरस–निरस क्रोध आवेग संवेग सबै उत्पन्न गर्न सक्ने सबै साहित्य हो । जीवन भनेको जन्म र मृत्युको दोसाँध हो अर्थात् जन्म र मृत्युको बीचको समय । जीवन आफैंमा संघर्ष पनि हो । संघर्षले खारिएको तीखारिएको जीवन नै स्वयंमा सफल र वीरताको जीवन हो । कुनै पनि वस्तुको व्यापक पहिचानको विश्लेषण गर्नसक्ने चिन्तन नै दर्शन हो कि ?

तपाईंले अहिले निकाल्न लाग्नु भएको पुस्तकको नाम के के हो ? ती पुस्तकका बारेमा संक्षेपमा जानकारि दिनु हुन्छ कि ?
मैले माथिनै भने अब लोप हुँदै गरेका लोक कथा संग्रह गर्ने, निष्कर्ष शैलीको मेरो दशकौं पुरानो प्रयाशलाई फुटकर रूपमा पुस्तकहरूमा जो प्रकाशित भए भए तर अब जति छन् तेसलाई पुस्तकाकारका रूपमा प्रकाशनमा ल्याऊने, लोक वेद/हाइकु, लोकवेदका रूपमा रहेका हाम्रा समाजका कर्खा गाथा रसिया घँसिया उखान टुक्कालाई लोकवेदकै रूपमा प्रकाशनमा ल्याऊने, केटौले बेलामा लेखिएको नाटकलाई प्रकाशनमा ल्याऊने, कविता संग्रह, समसामयिक लेखहरूको संग्रह र ऐतिहासिक लेखहरूको संग्रहसमेत अप्रकाशित ऐतिहासिक विषय वस्तुलाई प्रकाशनमा ल्याउने सोचमा खोजमा संग्रहमा र लेखनमा दिमाग लगाई रहँदा हेरौं हातले र आँखाले कति साथ दिन्छ । पुस्तकमा आउने विषय वस्तु बारे बोलेँ पुस्तकको रूप बनेपछि मात्र पुस्तकको नाम राखेर न्वारन गरूँला तब पो नाम दिन सकुँला अहिले हतारमा नाम नराखौं होला । जन्मेकै छैन के गर्भे चिना लाउनु र ?

म अमेरिका बस्दै छु तर पहाडमा जन्मिएर हुर्केका कारण पहाड नै मन पर्छ । मलाई मेरो नेपालको हिमाल, हिमालको नेपाल त्यही गाउँबेंशी उकाली-ओराली, देउराली-भञ्ज्याङ र चौतारी अनि हाम्रै पहाड र हिमाल मन पर्छ । माता र माटाको माया लाग्छ ।

तपाईंले साहित्य लेखन अध्यायन र काममा उत्तिकै व्यस्त हुनुहुन्छ । कसरी समय मिलाउनु हुन्छ ?
मान्छे व्यस्त हुनैपर्छ कुनै न कुनै काममा मान्छे लागेन भने ऊ बिग्रन्छ भन्छन् नि ‘खाली दिमाग सैतानका घर’ व्यस्त नभए मन चञ्चल हुनेदेखि लिएर डिप्रेसनको सिकारसम्म पनि हुन पुग्छ तसर्थ हामी त हिजो अध्यापन गर्दै गर्दा भनौं अधिकांश गाउँका शिक्षक किसान पनि थियौँ । त्यसैले स्कुलबाट घर, घरबाट स्कुल यो उसको दिन चर्या नै हो हिजो गाउँको एउटा शिक्षक समग्र समाजको सामाजिक नेता नै थियो किनकि गाउँले र गाउँको पूर्ण जिम्मेवार सामाजिक व्यक्तित्व शिक्षक नै थियो ।

त्यसैले उसले सबैतिर समय मिलाउनै पथ्र्यो । अहिले त तपाईंले भन्नु भए झैँ अध्ययन र लेखनमा मात्र सीमित हुन पाउँदा र अमेरिकाको व्यस्त वातावरणमा आफू बसिखानेलाई त समय मिलाउन खासै समस्या छैन तैपनि आफ्ना वेदना आफैं जान भनेझैँ कहिले पढ्न खोजेको पुस्तक पाइन्न कहिले लेखनको व्यस्तताले भ्याइन्न यो दिमाग दुई तिनतिर छिरोल्दा कता-कता के भएको के नमिलेको जस्तो चाहिँ हुन्छ र पनि हाल सम्मलाई मिलाइँदै छ ।

तपाईंले रुचाउनु भएका कुन-कुन साहित्यिक पुस्तक हुन् र साहित्यकार हुनु हुन्छ ?
मेरा बालपनमै मन परेको राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गौरी’महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ लेखकको नाम याद भएन ‘भोटेको सवाई’ लेखनाथको ‘पिंजडाको सुगा’ तर अहिले त साहित्यिक फाँटमा पुस्तकहरू बग्रेल्ती निस्किनाले साहित्यमा प्रतिस्पर्धा नै चलेको छ । विषय र क्षेत्र अनुसार सबै मन पर्छन् । चर्चामा आएका पुस्तक पढ्न भने एउटा साहित्यको पाठकको हैसियतले लोभ लाग्छ ।

अहिले पनि ‘बाल कविता’ गीत लहडमा लेखिन्छ किनकि २०५७ अघि जस्तो जिम्मेवारीमा पछि रहिएन । त्यसैले कवितातिर बढी लर्किन थालियो । गीत छोडिए जस्तै भएको छ । पचासको दशकमा आएर बल्ल स्थानीय पत्रपत्रिकामा समेत प्रकाशन गर्न लागियो ।

तपाईंलाई कुन ठाउँ मन पर्छ ? किन ?
मलाई जहाँ शान्त र सुशीतल छ तल सफा नदी खोला बगिरहेको होस् त्यको किनारमा तरेली पर्दै गाउँसम्म खेत होस् अनि ति खेतको माथि गाउँ होस् गाउँको अन्त्यमा, खेतबाट उकाली चढ्दा गाउँ पुग्ने बेलामा र खोलाबाट उकालो लाग्दै गर्दा किनारमा चौतारी भएको गाउँ रमाइलो लाग्छ । म अमेरिका बस्दै छु तर पहाडमा जन्मिएर हुर्केको कारण पहाड नै मन पर्छ । मलाई मेरो नेपालको हिमाल, हिमालको नेपाल त्यही गाउँबेंशी, उकाली-ओराली, देउराली-भञ्ज्याङ र चौतारी अनि हाम्रै पहाड र हिमाल मन पर्छ । माता र माटाको माया लाग्छ ।

खाली समय कसरी बिताउनु हुन्छ ?
काम गर्नेलाई खाली समय नै हुँदैन भन्छन् । मेरो दैनिकी समय पढेर अलिकति धेरै लेखेर भन्नुभन्दा नि यो मोबाइल र आई प्याडमा कोरेरै बित्छ । एक-दुईवटा कविता, उक्तक, मुक्तक- लोकवेद कविता, हाइकु लोकवेद–समय सन्दर्भ लोकवेद-पदीय निष्कर्ष शैली र समसामयिक कविता आदि पोष्ट गर्छु अनि फेसबुकमा सरर के आएको छ नौलो नायकका सिर्जना हेर्छु र समाचारमा प्रायः ताजा र लोकप्रिय सरर हेर्छु । यी हातहरूले पनि सहज र सरल साथ दिएका छैनन् पीडा भएपछि थपक्क आई प्याड थन्क्याउँछु ।

तपाईंलाई गीत र कविता कुन मन पर्छ ? तपाईंले गीत पनि लेख्नु भएको छ ?
मलाई गीत र कविता दुवै मन पर्छ । मलाई त लाग्छ संगीतबद्ध गरे गीत सरसरी गति यति लय मिलाएर गाए कविता भने हुन्न र ? भन्ने लाग्छ । तर पनि कविताले भन्दा गीतले ऊर्जा दिने हुनाले गीत नै मन पर्छ । गीत भन्ने बित्तिकै रसका कुरा आउँछन् ढुंगा त रसाउँछ भन्छन् संगीतले । कविता दूधमा चामल राखेर पकाएको मसलाविहीन खीर हो भने गीत मसलासहित मह-घ्यू मिसाएको खीर हो जसमा बास मिठासमात्र होइन खाने बित्तिकै ऊर्जा प्रवाहसमेत हुन्छ ।

ADVERTISEMENT

मैले पहिलो गीत २०२५ सालमा दुई हरफ काठमाडौंको ठहिटीमा बस्दा लेखेथेँ त्यो पनि सिनिएर दाइहरूको प्रेमिल संकेतलाई देखेर ‘म त छु यता तिमी छौ तेता भेट हाम्रो हुँदैन, लाएनि माया छुटानाम हुन्छ बोलाउन पाउँदैन ।’ जबदेखि स्कुलमा शिक्षक भइयो तबदेखि नै गीत लेखन बाध्यता जस्तै भयो । स्कुलमा प्रतिवर्ष हुने वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रम तथा कहिले काहिँ हुने देउसी भैलो अनि अन्तर स्कुल, क्लब प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमका लागि तयारी हुनुपर्ने भएकाले रेडियोबाट प्रसारित गीतका भाका पनि चोरिन्थ्यो अनि लोक भाकामा मिल्ने र नाच्न नचाउन सकिने चुड्किला फुर्तिला गीतको आवश्यक पर्ने भएकाले भाका संकलन र गीत रचना बाध्य भएर गर्नु लेख्नुपथ्र्याे त्यसैले राष्ट्रिय गीतलगायत समूह नाचका युगल नाचका एकल नाचका लागि गीत तयार गर्दै नचाउनुपर्ने भएकाले कति लेखियो त्यसको लेखाजोखा गर्न संग्रह गरिएन, रिकर्ड कता-कता पुगे सुरक्षित गरिएन प्रकाशनको कुरा बल्लो घाटको पल्लो लहरो थियो ।

त्यसैले फुटकर गीत कविता कति भनेर भन्न सकिन्न बरू नाच्ने विद्यार्थीले भेट हँुदा केही केही सुनाउँछन् जति लेखेँ २०५७ सम्मका त्यस्ता विद्यार्थीहरू भेटेर संग्रह गरुँ कि भन्ने लागिरहेको छ । पुराना डायरीमा भएका केही अझै प्रकाशनको पर्खाइमा छन् । केही २०७८ पुसमा ‘मलाई मन पर्छ’ बाल गीति कविता संग्रहमा प्रकाशित पनि भएका छन् । जसको भूमिका राष्ट्रकवि माघवप्रसाद घिमिरे र प्रा.डा.महासमालोचक वासुदेव त्रिपाठीले २०६२ वैशाखमै लेखिदिई सक्नुभएको थियो । नाम चलेका प्रकाशनको पर्खाइले समयमा बाहिर ल्याउन आफ्नै तर्फबाट पनि ढिलो भयो ।

अहिले पनि ‘बाल कविता’ गीत लहडमा लेखिन्छ किनकि २०५७ अघि जस्तो जिम्मेवारीमा पछि रहिएन । त्यसैले कवितातिर बढी लर्किन थालियो । गीत छोडिए जस्तै भएको छ । पचासको दशकमा आएर बल्ल स्थानीय पत्रपत्रिकामा समेत प्रकाशन गर्न लागियो । पहिलो पटक सिनामंगलबाट निस्केको ‘बन्दना’मा २०४९ मा स्वच्छन्दमा अन्त्यानुप्राशयुक्त कविता प्रकाशित भएको थियो ।

तपाईंले अहिलेसम्म कतिवटा पुस्तक लेख्नुभएको छ ? र, अहिले के लेख्दै हुनु हुन्छ ?
मबाट सम्पादन तथा लेखन तथा सहसम्पादन गरिएका-बन्दी शिविरका आवाजहरू-२०६३, चिन्तन-२०६३-२०७० सम्म, गोरखा गौरव-२०६६, तत्व दर्शन-२०६५, गिरिजा बाबु-२०६८, मेरा फुटकर समसामयिक लेखहरू गोरखापत्र, अन्नपूर्ण, नागरिकमा र करिब एक वर्ष राजधानीमा समसामयिक राजनीतिक विश्लेषणात्मक लेख छापिएका थिए । आफ्नै लेखन प्रकाशनमा २०७८ साल पुस ५ गते एकैदिन एकै स्थानबाट लोक वेदमा आधारित पाँच पुस्तक-१ सोलीडोली’ लोकवेद, २-साइनु ‘लोक काव्य, ३, काँचुली’-उक्तकसंग्रह, ४-त्रितीय समर कोरोना कहर कवितासंग्रह, ५-मलाई मन पर्छ-बाल गीति कवितासंग्रह प्रज्ञा प्रतिष्ठानको हलमा लोकार्पण गरिएको थियो ।

अहिले लामा-छोटा गरी करिब सात दर्जनको संख्यामा लोक कथाका शीर्षक संग्रहित छन् अब नेपाल फर्केपछि अरू हराउँदै गएका कथा खोज्नतिर लाग्छु हालसम्ममा करिब अढाई दर्जन जति लोककथा सरसरी लेखनी भइसकेको छ । साथै उक्तक, हाइकु, लोकवेद, मुक्तक, समय सन्दर्भका कविता, पञ्च पदीय निष्कर्ष शैलीका कविता आदिमा र फाटफुट समसामयिक विषयका लेखनमै समय बितिरहेको छ ।

कस्ता साहित्यिक पुस्तक मन पराउनु हुन्छ ?
साहित्य भन्ने बित्तिकै साहित्य अनुरागी पाठक रमाएर रसाउँछ त्यसमा आफू पनि अछुतो रहन सकिँदैन । तर पनि वास्तविक सामाजिक परिवेशलाई समेटेर जीवन्तता दिन सकेको साहित्यिक पुस्तक मेरो रुचि पर्छन् । साथै समसामयिक सन्दर्भलाई गहिराइसम्म पुगेर खोज गरी ल्याएको विश्लेषणात्मक लेख भएको पुस्तक अर्कोतर्फ रुचिकर लाग्छ । पाठकको मन छुने जुनकुनै साहित्यिक पुस्तक मेरा लागि पनि थप रुचिकर लाग्छ । पाएसम्म पढ्छु किनकि पढ्दै जाँदा त्यही पुस्तकमा म पनि हराउँछु पढी नसकेसम्म । धेरै वर्ष पहिलेदेखि मैले उपन्यास पढ्न छाडेको थिएँ किनकि पढ्न थालेपछि नसकी नछाड्ने हुनाले तर गत साल ‘पुनर्वास’ नामले नै उत्सुक थिएँ जब पुस्तक उपहार आयो तब फेरि फाटफुट उपन्यास पढ्न थालेको छु ।

तपाईंको मन पर्ने साहित्यकार को-को हुनुहुन्छ र किन ?
यो र ऊ भन्नुभन्दा पनि नेपाली साहित्य जगतमा उदाएका सम्पूर्ण साहित्यकार मलाई मन पर्छ किनकि कसैले आफ्नो लेखनमा धेरै मिठास देलान् कसैले थोरै जति नै भए नि साहित्य भन्ने बित्तिकै यसै मिठो मानिन्छ । त्यसमा पनि लेखकले पक्कै केही दिनै खोजेको हुन्छ । केही न केही अवश्य दिन्छ । तसर्थ साहित्यकार सबै नै मन पर्छ । तैपनि को-को भनेपछि त यो यो भन्नै पर्ने होला ? तर सबै भन्न ठाउँ पुग्दैन । त्यसैले माधवप्रसाद घिमिरे, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, यी पुरानै पंक्तिका भए त्यस यताकामा डा.वासुदेव त्रिपाठी, रमेश खकुरेल लगायत हाल साहित्यिक जगतका उदीयमान साहित्यकारहरूको लामो फेहरिस्त बन्ने हुनाले सबै मेरा मन परेका साहित्यकारहरू हुन् । नेपाली साहित्य भण्डार भर्नु हुने यति धेरै साहित्यकार हुनुहुन्छ कि मैले नाम लिँदै जाँदा धेरै हुन्छन् ।

म नेपाली उखान टुक्का कर्खा गाथा लोकगीत, भजन बालुन घँसिया गीत रसिया गीत झ्याउरे रोदी भाका रत्यौली तीजको तिलो मंगल र विवाहमा गाइने कथ्वा श्लोकले समेत हाम्रो लोकवेदको झलक दिन्छ । त्यसैले मले यस्तै लेखेको छु, लेख्छु र लेख्दै जान्छु ।

तपाईंलाई ‘लोक कवि’को उपाधि कसले कहिले र केका लागि दिएको थियो बताइ दिनु हुन्छ कि ?
मलाई गोरखा सर्जक समाजले २०७८ पुस ५ गते मेरा पाँचवटा लोक बोलीमा आधारित लोक साहित्य ‘लोक वेद’ कृतिका लागि यो उपाधि दिएको हो ।

अन्त्यमा मैले सोध्न बिर्सेका र स्वयं तपाईंलाई भन्न मन लागेका कुनै कुरा छन् भने भन्न सक्नुहुन्छ ?
म पेशाले शिक्षक याने अध्यापक लेखनीको साहित्यको प्रभाव पहिलो त मेरो परिवारमा बा, दाजुहरूले रामायण, महाभारत, देवी भागत, कृष्णचरित्र, उपदेश मञ्जरी, शिखरनाथ, कोमल गीता, गौरी र ठकुरी जोगीले रचना गरेका कविताहरू, भोटको सवाई, बाह्रमासे, प्रेम लहरी अनि भजनका चुड्का र टुक्का, बालुनका भाका र टुक्का र कर्खा गाएबाट साहित्य र कवितामा मन गयो । अनि धने गाइनेले बनाएको र गाएको बाजेका गाथा कर्खाजस्ता कुराले र २०१८ साल पुस माघमा बिदाका दिन गरामा गुन्द्री हालेर पहार ताप्दै साहित्यिक गुरु भीमप्रसाद कट्टेलबाट गाइएका कविता र लेख्न सिकाउने र प्रोत्साहन स्वरूप कविता लेखेर दिने अनि यसलाई यति हरफमा पूरा गर भनेर लाएदेखि नै औपचारिक रूपमा बालमनोविज्ञानका कवितातिर अर्थात् कवितात्मक साहित्यतिर लागेको रहेछु कि भन्ने एकातिर लाग्दछ भने अर्कोतर्फ हाम्रो लोकगीत र कर्खा गाथा नै हाम्रो नेपाली साहित्यको माता हो । त्यसैले बालपनमा जे जति सुन्दै आइयो त्यसले पक्कै यो मनमा लोकवेदले घर ग¥यो भन्ने लाग्छ ।

त्यसैले म नेपाली उखान टुक्का कर्खा गाथा लोकगीत भजन बालुन घँसिया गीत रसिया गीत झ्याउरे रोदी भाका रत्यौली तीजको तीलो मंगल र विवाहमा गाइने कथ्वा श्लोकलेसमेत हाम्रो लोकवेदको झलक दिन्छ । त्यसैले त सबैमा मैले लोकवेद भेटेको देखेको पाएको हुनाले लेखेको छु, लेख्छु र लेख्दै जान्छु । जुन मलाई यही लोकले सुनायो सिकायो देखायो चाहे श्लील-अश्लील जे होस् एक जमानामा यस्तो भाषा र चलन थियो भनेर लोकवेदको इतिहासको एउटा कुनामा यो संसार रहेसम्म सुरक्षित भयो भने युगौंपछिको पुस्ताले यो भाषा साहित्यको लोकज्ञान पाउने हुनाले लोकवेदको जगेर्नाकै लागि साग्रह मेरो अभियान हो भन्न चाहन्छु ।

अन्तमा मलाई प्रश्नको पेटारो दिनुहुने पत्रकार, उपन्यासकार तथा बहुप्रतिभाका धनी साहित्यकार सर्वज्ञ वाग्ले र यस प्रश्नोत्तरको पेटारो खोली सार्वजनिक गरिदिनुहुने हिमालय टाइम्सका प्रधान सम्पादकलगायत पूरै टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?