एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । शुक्रबार राती भ्यालेन्सियालाई घरेलु मैदानमै दुई-एकले हराउँदै पुनरागमन जित निकालेको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु टोली भ्यालेन्सियाले लिएको थियो । खेलको २७औँ मिनेटमा हृयुगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । पहिलो हाफमा एक-शून्यको अग्रता लिएको भ्यालेन्सिया दोस्रो हाफमा भने सम्हालिन सकेन ।
खेलको ५५औँ मिनेटमा रियल मड्रिडले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीमा जुडे बेलिङ्घमले गोल गर्न सक्नुभएन । खेलको ६०औँ मिनेटमा केलियन एम्बाप्पेले गरेको गोल पनि भिएआरले मान्यता दिएन । खेलको ७९औँ मिनेटमा रियल मड्रिडका भिनिसियस जुनियर रातोकार्ड खाँदै मैदानबाट बाहिरिनुभएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।
खेलको ८५औँ मिनेटमा कप्तान लुका मोड्रिचले गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्काउनुभएको थियो । इन्जुरी समयको पाँचौँ मिनेटमा जुडे बेलिङ्घमले गोल गर्दै रियल मड्रिडलाई दुई-एक गोलअन्तरको पुनरागमन जित दिलाउनुभयो ।
जितसँगै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियल मड्रिडले १९ खेलबाट ४३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको १८ खेलबाट ४१ अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको भने १९ खेलबाट ३८ अंक छ ।






