नयाँदिल्ली । भारतीय फास्ट बलर जसप्रित बुमराह आइसिसी टेस्ट बलिङ वरीयतामा ९०७ रेटिङ अंक प्राप्त गर्ने पहिलो भारतीय बन्नुभएको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा उहाँले यो उपलब्धि हासिल गर्नुभएको हो ।
बुमराहले गत हप्ता ९०४ रेटिङका साथ रविचन्द्रन अश्विनको कीर्तिमान बराबरी गर्नुभएको थियो । अश्विनले डिसेम्बर २०१६ मा यति धेरै रेटिङ अंक पाउनुभएको थियो । अस्ट्रेलियाविरुद्ध जारी सिरिजमा बुमराह सर्वाधिक विकेट लिने खेलाडी हुनुहुन्छ । उहाँले बोर्डर गावस्कर ट्रफीको सुरुवाती चार खेलमा ३० विकेट लिनुभएको छ । अस्ट्रेलियाका जोस हेजलवुड (८४३) अहिले दोस्रो स्थानमा हुनुहुन्छ भने प्याट कमिन्स (८३७) तेस्रो स्थानमा हुनुहुन्छ ।
यसैगरी यशस्वी जैसवाल पुरुष टेस्ट ब्याटिङ वरीयतामा एक स्थान माथि उक्लिनुभएको छ । उहाँले आफ्नो करियरकै उत्कृष्ट वरीयता हासिल गर्नुभएको छ । इंग्ल्याण्डका जो रुट पहिलो स्थानमा यथावत् हुनुहुन्छ । इङ्लिस अलराउन्डर हृयारी ब्रुक दोस्रो नम्बरमा हुनुहुन्छ । टेस्ट अलराउन्डर वरीयतामा जडेजा शीर्ष स्थानमा यथावत् हुनुहुन्छ । दोस्रो स्थानमा बंगलादेशका मेहदी हसन हुनुहुन्छ । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले चार स्थान सुधार गर्नुभएको छ । उहाँ तेस्रो स्थानमा पुग्नुभएको छ । एजेन्सी ।






