काठमाडौं । चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोष्टर सार्वजनिक भएको छ । आगामी माघ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्र बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको हो । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको चलचित्रलाई जीवन सेञ्चुरीले निर्देशन गर्नुभएको छ ।
सार्वजनिक पोष्टरमा चलचित्रका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ । पोष्टर राकेश दाहालले डिजाइन गर्नुभएको हो । चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपानेलगायत कलाकारको अभिनय छ ।
निर्देशक सेञ्चुरीले चलचित्रले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताउनुभयो । ‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको चलचित्र हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भन्नुभयो । उहाँले चलचित्रले बाल विवाह तथा महिलाको मुद्दा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताउनुभयो ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको यो चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ । चलचित्रमा राजबहादुर सानेको कथा, बिबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts