काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’का तीन पोष्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले बुधबार चलचित्रका तीनवटा पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पोष्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन् ।
पहिलो पोष्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) हुनुहुन्छ । दोस्रो पोष्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ । अर्को पोष्टरमा हरिष र विजय हुनुहुन्छ । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको देखाएको छ ।
गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोष्टरले संकेत गरेको छ । तर, प्रष्ट रूपमा कथा के हो भन्ने खुलाएको छैन । कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेको चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ)लगायत कलाकारको अभिनय छ । चलचित्रमा सुदीप बरालको छायांकन छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहेका छन् । नवीन श्रेष्ठ निर्माता रहेको यो चलचित्रमा रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताको रूपमा रहनुभएको छ ।
यो चलचित्रको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ । वितरण कम्पनीका प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम्’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना छ ।
आगामी फेब्रुवरी २८ र मार्च ७ तारिखमा विभिन्न देशमा प्रदर्शन गरिने सुवेदीले जानकारी दिनुभयो । कुन-कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने उहाँले बताउनुभयो । नेपालमा भने ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।







Breaking news with related posts