काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आज (शुक्रबार)देखि हुने भएको छ । लिगमा पुरुष/महिलामा समान पाँच/पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराउनुभयो । पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौल समूहमा खेल हुनेछ । महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजीमा भिडन्त हुनेछ । करिब तीन सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रञ्जित डगौराले जानकारी दिनुभयो ।
काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० अंक, सात अंक र तीन अंक प्रदान गरिनेछ । प्रत्येक तौल समूहमा पदक विजेता खेलाडीलाई अर्को लिगमा खान/बसोबास/यातायातको सुविधा प्रदान गरिने काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताउनुभयो ।
प्रतियोगिताका खेलहरू टोखा नगरपालिका वडा नम्बर ५ को कार्यालयमा हुनेछन् । तीन/तीन महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुवात गरिएको लिगको तेस्रो संस्करण फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागार्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता