काठमाडौं । नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति-२०८१ को आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ १० गतेदेखि हुने भएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका आठ र आमन्त्रित दुई विदेशी टोलीसहित १० पुरुष टिमको सहभागिता रहने आयोजक समितिका संयोजक मोहनबहादुर बस्नेतले बिहीबार सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइनेछ । सोही अवसरमा समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने जानकारी दिइयो । तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरोगीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिनुभयो । उत्कृष्ट पुरुष/महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिनेछ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्वर्गीय व्यक्तित्वहरूको सम्मानमा विभिन्न खेलका प्रतियोगिता पनि आयोजना गर्ने बताउनुभयो । यी प्रतियोगिताहरू भने नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्नेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने र समापन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुने बस्नेतले जानकारी गराउनुभयो ।
३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले योगदान दिएका नेताहरूको नाममा विभिन्न शहरमा खेलकुद प्रतियोगिताहरू गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा ३७ स्वर्गीय नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो । बिपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका ३७ जना नेताहरूको नाममा फुटबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गरिने भएको हो । चार शहीदहरू गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको नाम पनि सूचीमा छ ।
बिहीबार नै सभापति कप फुटबल र दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको घोषणा भएको हो । फुटबल माघ १० देखि १७ गतेसम्म काठमाडौंमा तथा तेक्वान्दो माघ १८-१९ मा कैलालीको धनगढीमा हुनेछ ।
समावेशीका आधारमा सबै नामलाई समेटेर राखिएको कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । ‘३६ जना प्रजातन्त्र स्थापनाका लागि लडेका, वैचारिकरूपमा लडेका, हिमाल, पहाड तराई बस्तीका व्यक्तिहरू समावेश गरिएको छ,’ उहाँले भन्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता