कुवेत । कतार २६औँ अरबियन गल्फ कपको समूह चरणबाट बाहिरिएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रबार राती सम्पन्न समूह चरणको अन्तिम खेलमा आयोजक कुवेतले १-१ को बराबरी खेलेपछि कतार बाहिरिएको हो । कतारले सेमिफाइनलमा स्थान सुरक्षित गर्न कुवेतलाई दुई गोलको अन्तरले हराउनुपर्ने थियो । तर, कतार बराबरीमै चित्त बुझाउन बाध्य भयो ।
खेलको ७४औँ मिनेटमा कुवेतका मोहम्मद दहमले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । तर, इन्जुरी समयको अन्तिम मिनेटमा मोहम्मद मुन्तारीले गोल फर्काएर कतारलाई खेलमा फर्काउनुभयो । त्यसपछि कतारले विजयी गोल गर्न नसक्दा समूह चरणबाटै बिदा भएको हो ।
कतारका प्रशिक्षक लुइस गार्सियाले आफ्ना खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे पनि भाग्यले साथ नदिएको बताउनुभयो । कुवेतका प्रशिक्षक एन्टोनियो पिज्जी भने टोलीको प्रदर्शनबाट निकै खुसी देखिनुभयो । समूह ‘ए’ मा कतार दुई अंकका साथ अन्तिम स्थानमा रहृयो, जबकि कुवेतले पाँच अंक बटुलेर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । यसैगरी युएईसँग १-१ को बराबरी खेलेको ओमान पनि सेमिफाइनलमा प्रवेश गरेको छ । एजेन्सी ।






