✍️ ठाकुर बेलवासे
तिमीले चिनाएको
देशको झण्डा हातमा उठाएर
म आज नागरिक बनेको छु
तिमीले रचेको इतिहास पढेर
खोल्सा, खोच र गोरेटाहरू
अनि आफ्नै अनुहार चिन्ने भएको छु
तिमीले एउटा आकाश बनायौ
म त्यही आकाशमा
अनन्त उड्ने चराजस्तो भएको छु
तिमी नजन्मिएको भए
मेरा टाउकामाथिको आकाश
वर्षाको हिलोजस्तो हुने थियो
गर्मीसँगै फुटेर पटपटी मेरा आँखामा उड्ने थियो
तिमीले आँखा नखोलेको भए
बादलको जंगलमा हराउने थियो आकाश
चारैतिरबाट तन्काएर
आकाशलाई आकार दियौ तिमीले
अहिले म
निर्धक्क आकाश हेरेर
ताराहरू गन्न सक्ने भएको छु
हृदय सल्काएर तिमीले
उज्यालो बनायौ धर्ती आकाश
तिम्रै विचारको सलेदोको उज्यालोमा
बाज र परेवासँगै कावा खाइरहेका छन्
दुःख र स्वतन्त्रताको रंग पोतेर
तिमीले अस्तित्वको सुन्दर तस्वीर छोडेर गयौ
आज त्यही तस्वीरमा
आफ्नो अनुहार हेरर
जीवनको संगीत सुन्न सक्ने भएको छु
तिम्रा सपनामा म बिउँझिएको छु
अब बाँसुरी बजिसकेको छ
तिमीले कथेको मेरो गीत
गाउने समय आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts