काठमाडौं । आज (शुक्रबार) मंसिर १४ देखि २२ गतेसम्म हुन लागेको अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपालका राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुर प्रस्थान गर्नुभएको छ । २४औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता सुवेदी र तेस्रो हुनुभएका दाहाल सिंगापुर प्रस्थान गर्नुभएको हो । सिंगापुर ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका दुई खेलाडीसहित आयोजक राष्ट्र सिंगापुर, अमेरिका, भारत, चीन, स्पेन, उज्वेकिस्तान, युएई, फिलिपिन्स, जर्जियालगायत ६० भन्दा बढी उच्च ग्राण्ड मास्टर्सहरूको सहभागिता रहनेछ ।
भिसाका कारण नेपालले ४५औँ चेस ओलम्पियाडमा सहभागी हुन नपाएपछि खेलाडीको मनोबल उच्च राख्न नेपाल बुद्धिचाल महासंघले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा खेलाडी पठाएको हो । जसअनुसार राजन सुवेदी, फिडे मास्टर क्षितिज भण्डारी, सुश्रुत दाहाल र रूपेश जैसवाललाई सहभागी गराउने निर्णय गरेको थियो ।
यसैगरी महिला खेलाडीहरू सिन्दिरा जोशी, कृतिसारा अधिकारी, शान्ति धिमाल, पूजा भण्डारी र रिया श्रेष्ठलाई पनि कुनै न कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पठाइने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी हुने शीर्ष खेलाडीलाई आवास, हवाई खर्चलगायत खर्च वल्र्ड चेस फेडेरेसनको सहयोगमा नेपाल बुद्धिचाल महासंघले बेहोर्ने महासंघका कार्यसम्पादन सदस्य राजु ताम्राकारले जानकारी दिनुभयो ।
यसैबीच विश्व बुद्धिचाल महासंघको क्यालेन्डर प्रतियोगिता वल्र्ड च्याम्पियनसिप २५ नोभेम्बरदेखि सिंगापुरमा चलिरहेको छ । विश्व विजेता चीनका २७२८ रेटेट सुपर ग्राण्ड मास्टर डिङ लिरेनलाई भारतका २७८३ रेटेड सुपर ग्राण्ड मास्टर गुकेश डोमाराजुले च्यालेञ्ज गरिरहनुभएको छ ।
तीन चरणको वल्र्ड च्यालेञ्जमा एक÷एक जित र एक/एक बराबरी खेल्दै दुवैले १.५ अंक बनाउन सफल भएका छन् । कुल १४ खेलमा प्रतिस्पर्धा गर्दै प्रथम ७.५ अंक जोड्ने खेलाडीले विश्व च्याम्पियन बन्ने सौभाग्य प्राप्त गर्नेछन् ।






