गुल्मी । गुल्मीको तम्घासमा पाँचौं फोर्टिन स्टार कप सुरु भएको छ । चिदिचौर खेलमैदानमा “जाउँ हिँड रेसुङ्गा” अभियानको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित रेसुङ्गा नगरपालिकाको मुख्य प्रायोजकमा फोर्टिन स्टार युवा क्लब तम्घासको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा १० सम्म) पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो ।
मंगलबारदेखि सुरु भएको प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले खेल र खेलाडीको क्षेत्रमा नगरपालिकाले बिशेष प्राथमिकतामा राखेको बताउनुभयो । खेलाडीहरुको प्रोत्साहनका लागि गुल्मी जिल्लामा जन्मिएर अन्तर्राष्ट्रियस्तरमा गौरवपूर्ण इतिहास रच्न सफल दल बहादुर रानाको शालिक छिटै अनावरण गरिने उहाँले बताउनुभयो । सबै खेलाडी र युवाहरुको साथमा नगरपालिका रहेको भन्दै नगरप्रमुख पन्थीले खेल क्षेत्रका माध्यमबाट युवाहरुको प्रतिभालाई प्रोत्साहन गरिरहेको बताउनुभयो ।
प्रतियोगिता यहि मंसिर १५ गतेसम्म चल्नेछ । क्लबको चौधौं वार्षिकोत्सबको अवसरमा पाँचौं फोर्टिन स्टार कप-२०८१ आयोजना गरिएको क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न १५ विद्यालयले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताको पहिलो दिन अर्जुन बोर्डिङ हाई स्कुल र पृथ्वी मावि, भाडगाउँ मावि र गण्डकी बोर्डिङ्ग स्कुल बीच खेल भएको हो । पाँचौं फोर्टिन स्टार कप-२०८१ विजेताले ३५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेताले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।






