लण्डन । युइएफए च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ । एनफिल्डमा बुधबार राती सम्पन्न खेलमा साबिक विजेता रियल मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
जितपछि पाँच खेलबाट १५ अंक बनाउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । पाँचमध्ये दुई खेल जितेको साबिक विजेता ६ अंकसहित २४औँ स्थानमा छ ।
लिभरपुललाई जिताउन एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोले समान एक/एक गोल गर्नुभयो । खेलमा स्टार खेलाडीहरू मोहम्मद सलाह र केलियन एम्बाप्पेले पेनाल्टी मिस गर्नुभएको थियो ।
खेलको ५२औँ मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभएको थियो । त्यसको केही मिनेटमा एम्बाप्पेले खेललाई बराबरी गर्न सक्नुभएन । खेलको ६१औँ मिनेटमा एम्बाप्पेलाई बराबरी गोल गर्ने अवसर थियो । तर, उहाँको प्रहार गोलकिपर काओइहिन केलेहरले रोक्नुभएको थियो ।
७०औँ मिनेटमा सलाहको प्रहार पनि बाहिरिएको थियो । रियल मड्रिडमा बसाइ सरेपछि पहिलो सिजनमै च्याम्पियन्स लिग जित्ने एम्बाप्पेको सपना डगमगाउँदै गएको छ । फ्रान्सेली स्टारले पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्नुको मुख्य उद्देश्य च्याम्पियन्स लिग जित्नु नै रहेको बताउनुभएको थियो । तर, बुधबार लिभरपुलसँगको २-० हारसँगै रियल पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिने जोखिम बढेको छ । लिभरपुल भने च्याम्पियन्सिप लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । रियल मड्रिडलाई हराउँदै लिभरपुल अन्तिम १६ मा पुगेको हो ।
यस्तै खेलको ७६औँ मिनेटमा एन्डी रोबर्टसनको क्रसमा गाक्पोले थिबाउट कोर्टोइसको पासमा हेडरमार्फत् गोल गर्दै खेलमा जित सुनिश्चित गर्नुभयो । जितसँगै रियलविरुद्ध लिभरपुलले पछिल्ला आठ खेलको जितहीन यात्रा टुंग्याएको छ । च्याम्पियन्स लिगको फाइनलमा दुई हारसहित यसअघिका आठ खेलमा कुनै पनि खेलमा जित हात पार्न सकेको थिएन ।
राती नै भएका अरू खेलमा एस्टन भिला र युभेन्ट्सले गोलरहित बराबरी खेलेका छन् । यस्तै बेनिफिकाले मोनाकोलाई ३-२ ले हराउँदा साख्तर डोनेत्स्क पनि पिएसभीसँग ३-२ ले पराजित भएको छ ।
यसैगरी सेल्टिक र क्लब बु्रग्गीले १-१ गोलको बराबरी खेलेका छन् भने लिले ओलम्पिकले बोलोग्नालाई २-१ ले हराएको छ । यसअघि बुधबारको खेलमा भिएफबी स्टुटगाट क्रेभेना जेभेज्दासँग र स्पोर्टिङ क्लब आर्सनलसँग समान ५-१ गोलले पराजित भएका थिए । यस्तै, एसके एटुर्म ग्राजले गिरोनालाई १-० गोलले हराएको थियो भने बोरुसिया डर्टमन्डले डिनामो जग्रेबलाई ३-० गोलले हराएको छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता