इत्तिहाद । इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटी टोटनहृयामसँग स्तब्ध भएको छ । इत्तिहादमा शनिबार राती सम्पन्न खेलमा घरेलु टोली सिटी टोटनहृयामसँग ४-० ले पराजित भएको हो । यो सिटीको लगातार पाँचौँ हार हो ।
जेम्स म्याडिसनले सात मिनेटको अन्तरालमै दुई गोल गर्दै टोटनहृयामलाई सानदार सुरुवात गराउनुभएको थियो । उहाँले १३ र २०औँ मिनेटमा गोल गर्नुभएको थियो । ५२औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै सिटीसँगको अग्रता बढाउनुभयो । इन्जुरी समयमा ब्रेनान जोन्सनले अर्को गोल थपेपछि सिटी स्तब्ध हुन पुगेको हो ।
हारपछि सिटीलाई अंक तालिकामा धक्का लागेको छ । १२ खेलबाट सिटीको २३ अंक छ । शीर्ष स्थानको लिभरपुल सिटीभन्दा पाँच अंकले अगाडि छ । टोटनहृयाम भने १९ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । अक्टोबर २६ मा साउथहृयाम्पटनलाई १-० ले हराएयता पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटी इतिहासकै सबैभन्दा खराब लयमा देखिएको छ । यसअघि टोली लगातार चार खेलमा पराजित भइसकेको छ ।
यसैगरी आर्सनलले नटिङघम फरेस्टविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ । इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन बुकायो साका, थोमस पार्टी र इथन न्वानेरीले गोल गर्नुभयो । खेलको १५औँ मिनेटमा साकाको गोलमार्फत् आर्सनलले अग्रता लिएको थियो ।
५२औँ मिनेटमा पार्टीले टोलीको अग्रता दोब्बर बनाउनुभयो । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा न्वानेरीले गोल गर्दै आर्सनललाई सहज जित दिलाउनुभयो । जितसँगै १२ खेलमा २२ अंक जोडेको आर्सनल चौथो स्थानमा उक्लिएको छ । पराजित नटिङघम समान खेलबाट १९ अंकका साथ सातौँ स्थानमा छ ।
लिगअन्तर्गत शनिबार राती नै सम्पन्न अन्य खेलमा चेल्सीले लेस्टर सिटी तथा ब्राइटनले बर्नमाउथलाई समान २-१, उल्भरहृयाम्पटनले फुलहमलाई ४-१ र टोटनहमले म्यानचेस्टर सिटीलाई ४–० ले पराजित गरे । यसैगरी इभर्टन ब्रेन्टफोर्डसँग गोलरहित र किस्टल प्यालेस एस्टन भिल्लासँग २-२ को बराबरीमा रोकिए । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता