धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो ‘आइकोनिक प्लेयर्स’ मा अलराउण्डर बसन्त खत्रीलाई छनोट गरेको छ । सुदूरपश्चिमले युवा प्रतिभा छनोटका लागि धनगढीमा ‘ट्यालेन्ट हन्ट’ गरेको थियो । छनोट सहभागीमा हुन सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट २०० भन्दा बढी युवा खेलाडीले नाम दर्ता गराएका थिए ।
‘आइकोनिक प्लेयर्स’ छानिएसँगै बसन्तले एनपिएलमा सुदूरपश्चिम रोयल्सको प्रतिनिधित्व गर्न पाउने हुनुभएको छ । यसैगरी टोलीले आयुब चन्द, अभिषेक पाल, बसन्तसिंह कार्की, भुपेश जोशी, धर्मराज जोशी, सुशील रावत र टेक रावललाई ‘सुदूरपश्चिम रोल्यस हिरोज’का रूपमा छनोट गरेको छ । उहाँहरूलाई विशेष प्रशिक्षणको अवसर प्रदान गरिने क्लबले जनाएको छ ।
राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । यसैगरी टोलीले अष्ट्रेलियाका ब्राड हजलाई मेन्टरका रूपमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts