काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय टिभी च्यानल स्टार स्पोर्ट्ससँग गरेको सम्झौतालाई लिएर गम्भीर विवादको सिर्जना भएको छ । क्लिन फिडसम्बन्धी कानुन उल्लंघन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण गराउन लागिएकोमा सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।
क्यानले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको जानकारी दिएको थियो । त्यसलगत्तै सञ्चार र विज्ञापन क्षेत्रका तीन संस्थाहरूले साझा प्रेस विज्ञप्ति जारी गरेर उक्त सम्झौताप्रति आपत्ति जनाएका थिए । सम्झौता अवैधानिक रहेको उनीहरूको ठहर छ । साथै, विज्ञापन क्षेत्रको नियमनकारी निकाय विज्ञापन बोर्डले पनि यसप्रति ध्यानाकर्षण व्यक्त गरेको छ ।
क्यानले स्टार स्पोर्ट्ससँग भएको सम्झौता पारदर्शीरूपमा सार्वजनिक गरेको छैन । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई पैसा तिरेर प्रसारण अधिकार दिइएको स्वीकारोक्ति गरे पनि कति रकम भन्ने खुलाउनुभएको छैन । सम्झौताका शर्तहरू पनि गोप्य राखिएको छ ।
एनपिएलको टाइटल प्रायोजन पाँच वर्षका लागि सिद्धार्थ बैंकले गरेको छ । यो कति रकमको प्रायोजन हो भन्ने क्यानले बताएको छैन । यद्यपि चर्चामा आएअनुसार सिद्धार्थ बैंकले प्रत्येक वर्ष पाँच करोड रुपैयाँ क्यानलाई दिने सम्झौता छ । यसैगरी एनसेलसँग पनि महँगो सम्झौता भएको छ ।
स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुने भनिएपछि विज्ञापनदाताहरू आकर्षित भएका हुन् । तर, स्मरणीय के छ भने नेपालमा स्टार स्पोर्ट्स विज्ञापनसहित प्रसारण हुन सक्दैन । विदेशी टिभी च्यानलहरू विज्ञापनरहित मात्रै प्रसारण हुनुपर्ने प्रावधानसहित २०७७ देखि क्लिन फिडसम्बन्धी कानुन कार्यान्वयनमा आएको थियो । जसअनुसार अहिले नेपालमा विदेशी च्यानलहरू क्लिन फिडमा प्रसारण हुँदै आएका छन् । तर, यो कानुनविपरीत स्टार स्पोर्ट्समा विज्ञापन बजाउने लोभ क्यानले विज्ञापनदाताहरूलाई देखाएको हो ।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडियामा आएका समाचार र तीन संस्थाहरूको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।
यसैबीच मिडिया सोसाइटी र विज्ञापनसम्बन्धी संघसंस्थाहरूले नेपाल खेलकुद परिषद्, विज्ञापन बोर्ड, क्यानलगायत निकायमा सम्झौताविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा