डर्बी । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्ट विजयी भएको छ । शनिबार बिहान डर्बीमा भएको खेलमा नटिङघम फरेस्टले लेस्टर सिटीमाथि ३-१ को जित निकालेको हो । जितसँगै नटिङघम पाँचौँ स्थानमा उक्लिएको छ । लेस्टर १४औँ स्थानमा झरेको छ । खेलमा नटिङघमले कप्तान रयान याट्सको गोलमार्फत् १६औँ मिनेटमा अग्रता लिएको थियो । तर, २३औँ मिनेटमा जेमी वार्डीले हृयारी विंक्सको उत्कृष्ट पासमा गोल गर्दै लेस्टरलाई बराबरीमा फर्काउनुभयो ।
पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेले पनि नटिङघम फरेस्टका विंगरहरू क्यालम हड्सन-ओडोइ र एन्टोनी एलांगाले दोस्रो हाफमा आक्रमण बढाउँदै लेस्टरमाथि दबाब कायम गर्नुभएको थियो । दोस्रो हाफको सुरुमै अर्थात् ४७औँ मिनेटमा चिस वुडले उत्कृष्ट बल नियन्त्रण गर्दै गोल गरेपछि फरेस्टले २-१ को अग्रता लिएको थियो । ६०औँ मिनेटमा वुडले नै हेडर गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो र फरेस्टको तेस्रो गोल गर्नुभएको थियो । एजेन्सी ।






