इस्लामावाद । २३ वर्षीय युवा विकेटकिपर ब्याट्सम्यान मोहम्मद हरिस एसिसी इमर्जिङ टी-२० एसिया कपका लागि पाकिस्तान शाहीन टोली (पाकिस्तान-ए टोली) को कप्तानमा नियुक्त हुनुभएको छ । हालै सम्पन्न च्याम्पियन्स कप र घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्नुभएका उहाँले डिफेन्डिङ च्याम्पियन पाकिस्तान टोलीमा मौका पाउनुभएको हो । टोलीमा पाकिस्तानका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका धेरै खेलाडी छन् ।
एसिसी इमर्जिङ टी-२० एसिया कप अक्टोबर १८ बाट ओमानमा सुरु हुँदैछ । पाकिस्तान शाहीनको टोलीले अक्टोबर १६ मा ओमान प्रस्थान गर्नुअघि कराचीको हनिफ मोहम्मद हाई पर्फमेन्स सेन्टरमा ११ देखि १५ अक्टोबरसम्म आयोजना हुने शिविरमा अभ्यास गर्नेछ ।
च्याम्पियन्स कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएका आक्रामक ब्याट्सम्यान अब्दुल समदले पनि टोलीमा स्थान पाउनुभएको छ । हैदर अलीसँगै टोलीमा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव भएका चार खेलाडी छन् ।
यस प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । चार-चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, हङकङ र श्रीलंका ‘ए’ छन् भने समूह ‘बी’ मा साबिक विजेता पाकिस्तान शाहिन (ए टोली), भारत ‘ए’, ओमान र युएई छन् । यस प्रतियोगिताका सबै खेल मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन् । पाकिस्तानी टोलीले अक्टोबर १९ मा भारतविरुद्ध आफ्नो अभियान सुरु गर्नेछ ।
प्रत्येक समूहका शीर्ष दुई टोली अक्टोबर २५ मा हुने सेमिफाइनलका लागि छनोट हुनेछन् । फाइनल खेल २७ अक्टोबरमा हुनेछ । एजेन्सी ।






