
लण्डन । युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले सानदार जित हासिल गरेको छ । मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले स्विस क्लब योङ ब्वाइजलाई ५-० गोलले पराजित गरेको हो । जारी लिगमा यो बार्सिलोनाको पहिलो जित हो । खेलमा रोवर्ट लेवान्डोस्कीले दुई तथा राफिना र मार्टिनेजले समान १-१ गोल गर्नुभयो भने एक गोल बार्साले उपहारस्वरूप पाएको थियो ।
खेलमा लेवान्डोस्कीले ८औँ मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसपछि राफिनाले ३४ र मार्टिनेजले ३७औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ३-० को अग्रता दिलाउनुभयो । दोस्रो हाफको ५१औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को अग्रतामा लैजानुभयो । बार्साले खेलको ८०औँ मिनेटमा योङ ब्वाइजका तर्फबाट एक गोल उपहार पाएपछि खेल ५-० ले जित्यो ।
यसैगरी आर्सनलले पनि च्याम्पियन लिगमा पहिलो जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राती भएको खेलमा आर्सनलले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले पराजित गरेको हो । पहिलो जितसँगै आर्सनल आठौँ स्थानमा उक्लिएको छ । लिआन्ड्रो ट्रोसार्डको क्रसमा काई हावर्ट्जले गोल गर्दै २०औँ मिनेटमै आर्सनललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ३५औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको जित पक्का गराउनुभयो । दुई खेलबाट आर्सनलको चार अंक छ । समान खेल खेलेको पिएसजी भने तीन अंकसहित १८औँ स्थानमा छ ।
यस्तै, म्यानचेस्टर सिटीले पनि च्याम्पियन्स लिगमा स्लोभान ब्रिटिसलभाविरुद्ध ४–० को सहज जित निकालेको छ । पहिलो जितसँगै दुई खेलमा चार अंक जोडेको सिटी चौथो स्थानमा छ । दुवै खेलमा पराजित ब्रिटिसलभा बिनाअंक ३५औँ स्थानमा छ । ब्रिटिसलभाको मैदान तेहेल्ने पोलमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगन, फिल फोडेन, एर्लिङ हालान्ड र जेम्स म्याकटीले गोल गर्नुभयो ।
लिगकै अर्को खेलमा बोरुसिया डर्टमन्डले सेल्टिकमाथि सहज जित हासिल गरेको छ । घरेलु मैदानमा मंगलबार राती भएको खेलमा डर्टमन्डले सेल्टिकलाई ७-१ ले पराजित गरेको हो । जितसँगै शीर्ष स्थानको डर्टमन्डले दुई खेलबाट ६ अंक जोडेको छ । सेल्टिक भने समान खेलबाट तीन अंकसहित १९औँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच