वेलिंग्टन । श्रीलंकासँग २-० ले पराजित भएपछि टिम साउथीले न्युजिल्याण्डको टेस्ट कप्तानीबाट राजीनामा दिनुभएको छ । साउदीको स्थानमा टम लाथमलाई कप्तान बनाइएको छ । लाथम भारतमा हुने आगामी सिरिजमा न्युजिल्याण्डको नेतृत्वमा देखिनुहुनेछ ।
साउथीको कप्तानीमा न्युजिल्याण्डले १४ टेस्ट खेल्दा समान ६ जित र हारको नतिजा निकाल्यो । सन् २०२२ मा केन विलियमसनले छोडेपछि साउथीलाई कप्तान बनाइएको थियो । साउथीको आफ्नै फर्मका कारण यस वर्ष चर्चामा रहनुभएको थियो । उहाँले पछिल्लो आठ टेस्टमा १२ विकेटमात्र लिनुभएको छ ।
नयाँ कप्तान लाथमले यसअघि सन् २०२० देखि २०२२ को बीचमा नौ टेस्टमा टोलीको नेतृत्व गर्नुभएको थियो । भारतविरुद्ध न्युजिल्याण्डको तीन खेलको टेस्ट शृंखला अक्टोबर १६ बाट बैंग्लोरमा सुरु हुनेछ । यो भ्रमणका लागि न्युजिल्याण्डको १५ सदस्यीय टोली छिट्टै घोषणा गरिनेछ । एजेन्सी ।






