काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले राजीनामा दिनुभएको छ । आफ्नो कामको बोझ कम गर्न र आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न चाहेको भन्दै उहाँले कप्तानबाट राजीनामा दिएका हुन् । एक वर्षभन्दा कम समयमा बाबरले दोस्रो पटक कप्तानबाट राजीनामा दिनुभएको हो ।
सामाजिक संजालमार्फत पोस्ट लेख्दै बाबरले राजिनामाको घोषणा गर्नुभएको छ। ‘मैले आफ्नो प्रदर्शनलाई प्राथमिकता दिन, ब्याटिङमा बिशेष ध्यान दिन तथा परिवारसँग क्वालिटी टाइम बिताउनका लागि गत महिना कप्तानी छोड्ने आफ्नो निर्णयबारे पीसीबीलाई जानकारी गराएको थिएँ,’ बाबरले पोस्टमा उल्लेख गर्नुभएको छ ।
उहाँले अगाडि भन्नुभएको छ, ‘मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु । यो टोलीको नेतृत्व गर्न पाउनु सम्मानको कुरा हो, तर अब मैले राजीनामा दिने र आफ्नो भूमिकामा ध्यान केन्द्रित गर्ने समय आएको छ ।’
बाबरले ओडिआई र टि ट्वान्टी टोलीको कप्तानमा पुनः नियुक्त भएको करिब ६ महिनापछि राजीनामा दिनुभएको हो ।







