काठमाडौं । पहिलोपटक हुन लागेको वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को खेल तालिका सार्वजनिक गरिएको छ । इडब्लुभिएल असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुँदैछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक इन्फिनिटी ड्रिम्सले सार्वजनिक गरेको खेल तालिकाअनुसार असोज १४ को उद्घाटन खेलमा काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्स भिड्नेछन् ।
सोही दिन मधेश युनाइटेडविरुद्ध कर्णाली यस्भिस तथा चितवन शक्तिविरुद्ध गण्डकी थन्डर्सले खेल्नेछन् । लिगमार्फत् महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने र नेपाली महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास रहेको आयोजक इन्फिनिटीले जनाएको छ ।
असोज १५ मा गण्डकीविरुद्ध कर्णाली, काठमाडौंविरुद्ध चितवन तथा ललितपुरविरुद्ध मधेश, असोज १६ मा ललितपुरविरुद्ध कर्णाली, काठमाडौंविरुद्ध गण्डकी तथा चितवनविरुद्ध मधेश भिड्नेछन् । असोज १७ मा काठमाडौंले मधेश, कर्णालीले चितवन र ललितपुरले गण्डकी तथा असोज १८ मा ललितपुरले चितवन, मधेशले गण्डकी र काठमाडौंले कर्णालीविरुद्ध खेल्नेछन् । राउण्ड रोबिन लिगका खेलपछि तालिकाको शीर्ष दुई टोलीबीच असोज १९ मा फाइनल खेल हुनेछ ।
सोइङ थापा ‘ट्यालेन्ट हन्ट’ बाट छनोट
गण्डकी थन्डर्सले ‘ट्यालेन्ट हन्ट’ बाट सोइङ थापालाई छनोट गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजित ट्यालेन्ट हन्टमा ३० खेलाडीले सहभागिता जनाएका थिए । हाल पोखरा बस्दै आउनुभएकी ५ फिट ८ इन्च हाइट भएकी उहाँ स्याङ्जाकी हुनुहुन्छ । सोइङलाई गण्डकीका प्रबन्धक विकास खेतानको नेतृत्वमा रहेको म्यानेजमेन्ट टिमले छनोट गरेको हो ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहासमै पहिलोपटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी सरस्वती चौधरी मार्की प्लेयर रहेको गण्डकीले रुपेशकुमार विष्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
टोलीले यसअघि नै विदेशी कोटामा चार खेलाडी अनुबन्ध गरिसकेको छ । गण्डकी थन्डर्सको टोलीमा सरस्वती चौधरी (मार्की), प्रगति नाथ, कविता भट्ट, रिमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक (रुस), शिल्पा सिन्धु (भारत), एकातोरिना जुभ्यागिन्त्सेभा (रुस), जुही शा(भारत) र सोइङ थापा (ट्यालेन्ट हन्ट) रहनुभएको छ ।
नेपाल आइपुगिन् टर्किस खेलाडी जेनेप
‘कर्णाली एश्विज’ टिमबाट एभरेस्ट महिला भलिबल लिग खेल्न जेनेप आउटर्यान नेपाल आइपुग्नुभएको छ । टर्किस भलिबल खेलाडी जेनेप बिहीबार नेपाल आइपुग्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘कर्णाली एश्विज’ टिमले स्वागत गरेको हो । उहाँको आगमनसँगै टिममा थप ऊर्जा थपिएको र बलियो भएको ‘कर्णाली एश्विज’को विश्वास छ । टर्किस खेलाडी जेनेपलाई केही समयअघिमात्र ‘कर्णाली एश्विज’ले आफ्नो टिममा अनुबन्ध गराएको थियो । आउटसाइड हिटर जेनेप आउटर्यान आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसक्नुभएकी जेनेपले सुल्तान्स लिगको समेत अनुभव बटुलिसक्नुभएको छ । टर्कीको ‘युथ नेसन्स टिम’ अर्थात् ‘युवा राष्ट्र टोली’ को समेत अनुभव लिइसक्नुभएकी जेनेपले बेस्ट स्पाइकर अर्वाड(पोर्चुगल) समेत हात पार्नुभएको थियो ।
रमेश कर्पोरेसनले हेर्दै आइरहेको ‘कर्णाली एश्विज’ टिममा केही समयअघिमात्रै अर्की खेलाडी ग्याब्रीएल बेन्डा पनि अनुबन्धित हुनुभएको थियो । उहाँ अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ । कर्णालीको टिममा सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहोरा रहनुभएको छ ।
टर्कीकी एरोक्टे काठमाडौंमा अनुबन्ध
एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीका रूपमा टर्कीकी पेलिन एरोक्टेलाई अनुबन्ध गरेको छ । काठमाडौंले यसअघि बुल्गेरियन सेटर एन्ड्रिया स्भेतानोभालाई भित्र्याएको थियो । अपोजिट हिटर एरोक्टेसँग विभिन्न उमेर समूहबाट टर्कीको प्रतिनिधित्व गरेको अनुभव छ । उहाँले यू-१६ देखि २१ बाट टर्कीका लागि युरोपियन च्याम्पियनसिप खेल्नुभएको छ ।
यसैगरी एरोक्टेले टर्कीको यू-१९ टोलीबाट विश्व च्याम्पियनसिपको अनुभव पनि लिइसक्नुभएको छ । २० वर्षीया एरोक्टे टर्किस लिगकी चर्चित अनुहार हुनुहुन्छ । उहाँले सिग्रोटा सोप, बेसिक्टास आयोस जस्ता क्लबबाट लिग खेल्नुभएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी उषा भण्डारी प्लेयर रहेको काठमाडौंले जगदिश भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता