काठमाडौं । श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ। सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटको जित निकालेको हो। पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो।
टस जितेर सुरुमा ब्याटिङको निम्तो दिएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो।
श्रीलंकाका लागि कुसल परेराले ५३ रनको अर्धशतकीय इनिङ खेल्नुभयाे । ३४ बलको सामना गरेका उहाँले ६ चौका र दुई छक्का प्रहार गर्नुभयाे । पथुम निसानकाले ३२ रन जोड्दा कामिन्दु मेन्डिसले २६ रन बनाउनु भयाे । श्रीलंकाका कप्तान चरिथ असालान्का १४ रनमा आउट हुनुभएकाे थियाे ।
श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रवि बिश्नोईले तीन विकेट हात पार्नुभयाे । चार ओभर बलिङ गरेका उहाँले २६ रन खर्चिनु भयाे। भारतका लागि अक्षर पटेल, हार्दिक पाण्डेय र आर्शदीप सिंहले समान दुई/दुई विकेट हात पार्नुभयाे ।
१६२ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ सुरु गरे लगत्तै वर्षा भएपछि खेल अवरुद्ध भएको थियो। वर्षाले खेल अवरुद्ध भएपछि आठ ओभरमा छोट्याइएपछि भारतले ७८ रनको चुनौती पाएको थियो। भारतले उक्त लक्ष्य ६.३ ओभरमा तीन विकेटको क्षतिमा ८१ रन बनाउँदै भेट्टाएको हो।
भारतका लागि यशस्वी जैसवालले १२ बलमा सर्वाधिक ३० रन बनाउँदा कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रन जाेड्नुभयाे । हार्दिक पण्डेयले ९ बल खेल्दै नटआउट २२ रन बनाउनुभयाे ।
श्रीलंकाका लागि महेश थेक्षाना, वानिन्दु हसरंगा र मथिसा पाथिरानाले एकएक विकेट हात पार्नुभयाे । यो जितसँगै भारत शृङ्खलामा २-० ले अगाडि छ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts