काठमाडौं । नेपाल सितोरियो कराँते संघ शाखा डोजो लैनचौरले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेको छ । यसै महिना भुटानमा सम्पन्न आठौँ साउथ एसियन कराँतेमा पदक जित्न सफल लैनचौर डोजोका खेलाडीहरूलाई एक कार्यक्रमबीच सम्मान अर्पण गरिएको हो ।
डोजोले खेलाडीहरूलाई प्रोत्साहन स्वरुप एक रात्री भोजको समेत आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि आध्यात्मिक गुरु लामा घ्याछो रिम्पोछेले खादा ओढाएर खेलाडी तथा प्रशिक्षकलाई आशीर्वाद तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
आठौँ साउथ एसियन कराँतेमा स्वर्ण पदक विजेता विनिता श्रेष्ठ, तिरुता तामाङ दोङ, सोनु श्रेष्ठ, विनुमाया तामाङ, एलन श्रेष्ठ, रेहान जावेद, रेफ्री कोर्समा सफल लक्ष्मण खड्का र रत्न थापामगर तथा प्रमुख प्रशिक्षक राम थारु र प्रशिक्षक चन्द्रबहादुर खड्कालाई सम्मान गरिएको थियो ।






