ओखलढुंगा । ओखलढुंगाका अपाङ्गता भएका एक युवाले मरणोपरान्त अंगदान गर्नुभएको छ । ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका–३ का युवा नवराज खड्काले मरणोपरान्त अंगदान गर्नु भएको हो ।
उहाँले मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज र सानोआन्द्रा मरणोपरान्त दान गर्नुभएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरमा गई अंग दान गरेको बताउनु भयो । साउन १३ गते आइतबार उक्त केन्द्रमा गई मृत्यु पश्चात अंगदानको अनुसूची १९ को नियम १८ को (ख) अनुसार मन्जुरीनामा गरी अंगदान गरिएको बताएका छन् ।
शरीरसँगै जलेर सकिएर जाने अंगहरु अरुलाई काम लागोस् भनेर दान गरिएको खड्काले बताउनु भयो । आफु मरेर गएपनि आफ्नो अंगले अरु मान्छे बाँचोस भन्ने उदेश्यले मरणोपरान्त अंग दान गरिएको बताउनु भयो ।
२०४५ सालमा जन्मनु भएका खड्का सानै उमेरदेखि अपाङ्गता हुनुहुन्छ । उहाँको दाहिने खुट्टा पोलियो रोगका कारण सुकेको र लुलो छ । दाहिने खुट्टा लुलो भएपछि बैशाखीको सहायताले हिँडडुल गर्ने गर्नु भएको छ । करिब दुइवर्षको उमेर देखि नै खुट्टा नचलेको हो । समयमै उपचार गर्न संभव नभएपछि खुट्टा सधैँका लागि लुलो नै भइरह्यो । पछि ठुलोभएपछि भने बैशाखीको सहायताले हिँड्ने गर्नु भएको छ । सहयोगी भावना भएका खड्का सानै उमेरदेखि सामाजिक काममा अग्रसर हुनुहुन्छ । सामान्य परिवारमा जन्मिनुभएका खड्काकोे परिवारमा बुवा र तीन दाजुभाइ, दुई दिदीबहिनी छन् । आमाको करिब १४ वर्ष अगाडि नै निधन भएको हो ।
अहिलेको भड्कीलो समाजमा, मरणोपरान्त आफ्ना महत्वपुर्ण अंग दान गरेर नवराज खड्का एक उदाहरणीय युवा बन्नु भएको छ ।






