
मनसुन यस पटक अलिक ढिलो सुरु भयो । जेठको अन्तिम सातादेखि नेपाली किसानहरूले खेतीपातीको काम सुरु गर्छन् । मानसुन पनि त्यहीँ बेलादेखि नै सुरु भयो तर सक्रिय हुन सकेन । पूर्वाञ्चलमा सक्रिय भएको एक हप्तापछि पश्चिमतर्फ सक्रिय हुँदै आएको थियो । तर, जब सक्रिय भयो तब आवश्यकताभन्दा बढी सक्रियता देखाएर यसले चौतर्फी विध्वंस मच्चाइरहेको छ । अहिले मध्यबर्खाको समय छ मनसुन सक्रिय हुनु, पानी पर्नु ऋतुकालीन विशेषता हो तर अतिले खति गर्छ भन्ने उखान हालका दिनहरूमा चरितार्थ भइरहेको छ । मनसुनको बढी सक्रियताले गर्दा निरन्तर पानी परिरहेको छ । लामो समयको खडेरीपछिको वर्षा भएकाले यसको नकारात्मक प्रभाव बढी देखिएको छ ।
हाम्रो देशको भूबनोट हेर्दा दक्षिणतर्फ फर्किएको भिरालो भूभाग बढी छ । हिमालदेखि उच्च पहाड, तल्लो पहाडीक्षेत्र र महाभारत पर्वतको दक्षिणी पाटोसम्म पनि यस्तै स्वरूप छ । केही ठाउँमा चुरे र महाभारत पर्वतका बीचमा पनि भित्रीमधेस, खुँज, भाबर र दूनहरू रहेका छन् । सुदूर उत्तरदेखि यहाँसम्मको भू–भाग भिरालो भएका कारण पानी जम्ने समस्या छैन तर भिरालो जमिनहरूका आफ्नै खालका समस्या छन् । पहिरो जाने र नदी किनारका ठाउँहरू कटानमा पर्ने समस्या हुन्छन् । नेपालका धेरै ठाउँ नदी किनारमा रहेका छन् । नदीजन्य समस्याबाट पहाडी क्षेत्र प्रभावित हुने गरेको छ । बाढी र पहिरोमा परेर वर्षेनी धेरै मानिसले ज्यान गुमाउने गरेका छन् ।
ती ठाउँका मानिसहरूको पनि कमजोरी हुने गरेको छ । कमजोर पहाडी क्षेत्रभन्दा मुनि घर बनाएर बस्ने, नदीसँगै जोडेर घर बनाउने गरेका छन् । नदीलाई छेकेर घर बनाउने गर्नाले ती नदीको पानी बर्खामा भरिएर आउँदा बग्ने बाटो पाउँदैन, मानिसका घर र बस्तीतिर पस्छ जसले गर्दा मानवीय तथा भौतिक सम्पत्तिमा क्षति हुनसक्छ । हाम्रो देश सानो भए पनि भौगोलिक विविधता छ । दक्षिण फर्केको कमलो माटोले बनेको भू–भाग भएका कराण पहाडी क्षेत्रमा बर्खामा बाढीपहिरोको जोखिम छ भने तराईमा डुबानको समस्या । तराई समथर भू–भाग हो । हाम्रो देशको दक्षिणी भाग मेचीदेखि महाकालीसम्म नै तराई पर्छ । यो एउटा धोतीको किनाराजस्तो भएर रहेको छ ।
भिरालो पहाडी क्षेत्रदेखि डोलिएर तीव्र बेगका साथ प्रवाहित बनेर गएको पानी तराई क्षेत्रमा पुगेपछि समथर जमिनमा आफ्नो प्रवाह रोकेर जम्मा हुनेगर्छ । यसरी समथर जमिनमा तीव्रताका साथ बग्न नपाएपछि डुबानको समस्या रहन्छ । भौगोलिक अवस्थितिका आधारमा सबैतिर कुनै न कुनै प्रकारको जोखिमको सम्भावना सधैं रहिरहन्छ । अहिलेको अवस्था पनि यस्तै हो र मनसुनको चरम सक्रियता भइरहेको बेला हिमाली क्षेत्रदेखि तराई क्षेत्रसम्म सबै विभिन्न प्रकारका जोखिममा परेका छन् । हिउँदको अन्तिमतिर फागुन, चैत र वैशाख महिनामा चारैतिर आगलागी र डढेलाको प्रकोप व्यापक थियो हाल बाढीपहिरो र डुबानको समस्या ।
विकास निर्माणका कामहरू अवरुद्ध बन्न पुगेका छन् भने कतिपय ठाउँमा असारमा गरिने डोजरे विकासका कारण भत्काएर छोडिएका बाटाघाटा, ढल खनेको भड्खाराहरूले समस्या निम्त्याएको छ । केही समस्या मानवीय कारणले सिर्जना हुन पुगेकेका छन् भने केही भने नितान्त प्राकृतिक कारण छन् । धेरैजसो नदीहरूको सतह पानीले भरिएका छन् । उपत्यका बाहिरको कुरा फरक भयो उपत्यकाभित्रैको अवस्था पनि यस्तै छ । उपत्यकाभित्रबाट बग्ने नदीहरूको सतह भरिएर बाहिरसम्म जलप्रवाह (ओभरफ्लो) भइरहेको छ । जताततै खनेर छोडिएका कारण बाटो हिँड्नेहरूका लागि असुविधा भएको छ । बागमती, विष्णुमती, रुद्रमती, मनहरा, हनुमन्ते, कर्मनासालगायत सबै नदीहरू भरिएर सडकसम्म ढाकिएर बगेका छन् । उपत्यका बाहिरका अधिकांश नदीहरूको अवस्था पनि यस्तै छ ।
सम्पत्तिको क्षति हुनुका साथै उपत्यकाभित्रै पनि मानवीय क्षति हुन पुगेको छ । उपत्यका बाहिर पहिरोमा परेर र बाढीले बगाएर केहीको मृत्यु हुन पुगेको छ । विद्युत् उत्पादन केन्द्रहरू बन्द भएका छन् भने खानेपानीका मुहानहरू थुनिन, पुरिन र छोपिन पुगेका छन् । बाटाहरू अबरुद्ध बन्न पुगेका छन् र यात्रुहरू अलपत्र पर्नुपरेको छ । यस्तो अवस्थामा सबैको सतर्कता अपेक्षित छ । जोखिमपूर्ण यात्रा नगर्ने, जोखमपूर्ण स्थानमा नबस्नेदेखि बाढीपहिरोमा बहादुरी देखाएर नजिक जाने काम गर्नु हुँदैन । सरकारको जिम्मेवारी एकातिर छँदैछ भने अर्कातिर नागरिकहरू पनि सरकारको मुख ताकोर बसिरहनु हुँदैन । आफ्नो उद्धार सरकारले गरिदिन्छ भनेर जोखिमपूर्ण ठाउँमै बसिरहनु उचित हुँदैन ।
गृहमन्त्रीले जोखिम भएका परिवारलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिनुभएको छ । निर्देशन पालन गर्ने निकायहरूले तदारुकताका साथ त्यसको पालना गर्नुपर्ने हुन्छ । घटना हुनुपूर्वको सहयोग तिनलाई सुरक्षित ठाउँमा सार्ने र घटनाबाट जोगिने खालको हुनुपर्छ भने घटनापछिको उद्धार र राहतको सहयोग दोस्रो पाटो बनेर आउँछ । कुनै घटनाको पूर्वरूप कसैलाई थाहा हुँदैन । घटना हेरेर त्यसको उद्धारको उपाय अवलम्बन गर्नुपर्छ । निष्कर्षमा यो भन्न सकिन्छ कि अहिले मनसुन पूर्णरूपमा सक्रिय भएको अवस्था छ । यसबाट जोगिन जनस्तरबाट, सरकारीस्तरबाट पूर्णरूपमा सतर्कता र तयारीका साथ बस्नुपर्ने आवश्यकता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच