राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लागेको सहकारी ठगीको आरोप पछि उहाँको गिरफ्तारी र अनुसन्धनका विभिन्न प्रक्रिया पूरा गरी उहाँविरुद्ध मुद्दा दायर भएको छ । उहाँविरुद्धको यो अनुसन्धान निकै लामो समयसम्म भयो र पूरक अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । अस्ति आइतबार दर्ता भएको यस मुद्दाको पैरवी अब अदालतले गर्ने नै छ । यसअगाडि भएको तहकिकातबाट जुटेका प्रमाणहरूको विश्लेषण र कानुनविदहरूको बहस पैरवी पनि हुनेछ । यो कानुनी प्रक्रिया हो र स्वाभाविक प्रक्रिया पनि हो तर यसबाट सिर्जना भएका केही सवाल भने निक्कै गम्भीर खालका छन् ।
सबैको सहकार्यबाट व्यक्तिको सानोतिनो रकमलाई बचत गर्ने र त्यसबाट कुनै हर्जा परेको काम समाधान गर्ने उद्देश्यबाट सहकारीको स्थापना गरिएको हुन्छ । सहकारीमा ठूलो परिमाणको रकम राखिँदैन । वृद्धवृद्धाहरूको भत्ता, गृहिणीहरूको सानो कमाइ, विपन्नको थोरै रकम जम्मा गर्ने र कसैको कुनै अफ्ठ्यारोलाई सामुहिक सहयोगबाट त्यसको समाधान गर्ने उद्देश्यबाट स्थापना भएको यस्तो रकमबाट यत्रो ठूलो परिमाणमा अनियमितता हुने गहेको छ भन्ने यस प्रकरणले देखाएको छ । मलेशिया पलायन भएका जिबी राईले अनियमितता गरेको रकमको त कुरै गर्नु परेन । नेपालमै भएको रवि लामिछानेलगायत व्यक्तिबाट भएको रकम नै यति ठूलो मात्रामा रहेको हेर्दा यस प्रकरणबाट पीडित बन्न पुगेकाहरू कति संख्यामा होलान् त्यसको अनुमान गर्न नै मुस्किल छ ।
नाँङ्लो पसल गर्नेहरू तरकारी र फलफूल बेच्नेहरूबाट संकलन र बचत भएको रकम मौरीले फूलको थुँगाबाट जम्मा गरेर ससाना बुँदहरूबाट जम्मा भएको मह जस्तै हो । समाजको तृणमूल वर्गका मानिसहरूबाट त्यसरी सानोसानो रकम जम्मा भएर ठूलो परिमाण बन्नपुगेको त्यस्तो रकम अपचलन गर्नु र आफू महँगा गाडी, महल, जग्गाजमिन गरेर ऐश-आराम र भोगविलासको जीवन बिताउनुभनेको कानुनी रूपमा अपराध त हुँदै हो धार्मिक रूपमा हेर्ने हो भने पनि त्यो एउटा ठूलो पापकर्म हो । यस अपराधमा रवि लामिछानेविरुद्ध ३१ करोड बिगो दाबी गरिएको छ भने १५ वर्षको कैद माग गरिएको छ । कानुनी रूपमा बिगो बराबरको जरिवाना पनि हुने गर्छ ।
यत्रो ठूलो रकम उहाँबाट अपचलन भएको भन्दा सर्वसाधारणको मुटुले काम नगर्ने अवस्था छ । रविको परिवारका सदस्यहरूलाई पनि यस प्रकरणमा जोडिएका कारण उहाँकी पत्नी निकिता पौडेललगायत पाँचजनाको सम्पत्ति जफत गर्नुपर्ने माग पनि गरिएको छ । आयको स्रोत देखाउन नसकेको सम्पत्ति अन्य व्यक्तिहरूको समेत जफत गर्ने गरिन्छ भने अपचलनको आरोप लागेका व्यक्तिको परिवारको सम्पत्ति जफतको माग गरिनु स्वाभाविक हो । तर, रविलाई भन्दा अढाई गुणा बढी बिगो दाबी गरेर पूर्वडिआईजी छविलाल जोशीका विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
यतिमात्र पनि होइन यस प्रकरणमा प्रतिवादी बनाइएका ३१ जना व्यक्ति, आठवटा कम्पनी र सम्पत्ति जफत प्रयोजनको माग गरिएका पाँच जनाहरूको संख्या हेर्दा एक–दुईवटा सहकारीबाट मात्रै यति ठूलो आर्थिक अपचलन हुनेरहेछ भने देशभरिका हजारौं सहकारीहरूबाट कति अनियमितता भएको होला र अहिले पनि त्यस्तो जालप्रपञ्चहरू कति रचिँदैहोला ? त्यो अनुमानमात्रले पनि कहाली लाग्ने अवस्था छ । नेपाली कांग्रेस र एमालेका नेताहरूको पनि यस्ता प्रकरणमा नाम जोडिएको भनेर बेलाबेलामा नाम आउने गरेको छ । एउटा अर्को आश्चर्यको कुरा के छ भने मानवअधिकारको वकालत गर्दै र बेलाबेलामा यस्ता अनियमितताको विरोध गर्दै आउनुभएका भरत जंगम र उहाँका सहयोगीसमेत सहकारी ठगीको आरोपमा पक्राउ पर्नुभएको छ ।
यसरी हेर्दा हाम्रो देशमा अन्य विभिन्न क्षेत्रमा भएको भ्रष्टाचारको त लेखाजोखा नै हुनसकिरहेको छैन र राजनीति गर्नेहरूबाट खर्बाैंको अनियमिता हुँदै आएको छ । सहकारी क्षेत्रमै मात्र यसरी अर्बाैंको अनियमितता हुनेगरेको घटना भने आश्चर्य मान्नुपर्नेछ । राजनीति गर्नेहरूका साथै भ्रष्टाचारमा बाहिर सफेद देखिएका अन्य पेशा र व्यवसायमा सक्रियहरू समेतको संलग्नता देखिने गरेको छ । यसकारण भ्रष्टाचार वा आर्थिक अनियमितताका रेसाहरू घिरौँलाको जालो जसरी कुनको सम्बन्ध कुनसँग जोडिन पुगेको छ त्यो थाहा नहुने गरी जोडिन आएको छ । विडम्बना नै हो माकुराको जालो जसरी जोडिन आएको यो भ्रष्टाचारको जालो चिर्न सक्ने अवस्था तत्कालमा छैन ।
एउटा कसैले त्यसलाई चिर्ने प्रयास गर्यो भने अरू त्यस्तो जालोमा जेलिन आएकाहरू सबै एक ठाउँमा उभिन आउने र त्यसविरुद्ध संगठित हुने गर्दछन् । यस्तो जालोलाई चिर्ने प्रयत्न गर्दैछु भन्दा विगतमा मन्त्रीहरूले नै राजीनामा दिनुपरेको उदाहरण छन् । धेरै अगाडि नजाँदा पनि केही वर्षपहिले नारायणकाजी श्रेष्ठले यस्तो प्रयास गर्नुभयो तर उहाँलाई सोझो प्रतिकार गर्न नसकेर बिस्तारै पन्साइएको उदाहरण त्यति पुरानो भएको छैन । अब त यस्तो अनियमितताको जालोले गर्दा राष्ट्र नै असफलताको भासमा जाकिने हो कि भन्ने डर सिर्जना भइसकेको छ । यस्ता भ्रष्टाचार गर्नेहरू दोषी देखिनु स्वाभाविक हो तर त्यसमा सर्वसामान्यहरू समेत सचेत हुनु र अनियमितताको विपक्षमा उभिन सक्नुपर्छ । होइन भने भ्रष्टहरूको मनोबल अझै बढ्ने निश्चित छ ।
रवि प्रकरणमा केही समर्थक नागरिकहरूको पंक्ति र स्वयं राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर भ्रष्टाचारका पक्षमा सडकमा देखिनुले नेपालीहरूमा भ्रष्टाचारविरुद्ध मनस्थिति बनिनसकेको स्पष्ट गरेको छ । पुराना नेताका कर्महरूको तुलोमा नयाँलाई जोख्न राख्नासाथ प्रतिक्रियात्मक भीड पुरानोविरुद्ध उभिएको छ । पुरानाले भ्रष्टाचार गरे नयाँले गर्न किन नहुने ? भन्ने प्रश्नमा जेलिएको रवि समर्थनले कानुन, न्यायिक प्रक्रिया र अनुसन्धान प्रक्रियासमेतलाई पथविचलन गराउने प्रयास गरिरहेको छ । नयाँ भन्नुको अर्थ परिवर्तनमात्रै होइन परिमार्जन पनि हुनु हो । तर, परिमार्जनको आवश्यकतालाई प्रतिशोध भन्ने नाराले रविप्रकरणमा पार्टीका समर्थक नागरिक र रास्वपा नराम्ररी मुछिन पुगेका छन् । अदालतमा अभियोग पुगेको हुनाले रास्वपाको अराजक चिन्तनले पनि बिराम लिनुपर्छ र भ्रष्टाचारविरुद्धका अभियानमा सहयोगी बन्नुपर्छ ।






