
काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक-२०२४ मा खेल्ने हुनुभएको छ । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाई भरतको सहभागिता निश्चित भएको बताइएको छ ।
भरतले पेरिस पारालिम्पिकमा के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौल समूहमा जम्मा १२ खेलाडी रहनेछन् । छनोट हुने भरत अन्तिम खेलाडी हुनुहुन्छ । वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी पाँच खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।
दार्चुला अपिहिल गाउँपालिका-८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहनुभएको छ । भरतसँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उहाँले चीनको ताइवानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो ।
एसियाली छनोटको पहिलो खेलमा इण्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुग्नुभएका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग चुक्नुभएको थियो । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१औँ स्थानमा पुग्नुभएको थियो ।
त्यसअघि उहाँ वरीयताविहीन हुनुहुन्थ्यो । भियतनाममा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मसात गर्नुभएको थियो । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराउनुभएका भरतले दोस्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिनुभएको थियो । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८औँ स्थानमा उक्लिएको प्रशिक्षक लामाले जनाउनुभएको छ । अहिले पनि भरत ५८औँ स्थानमा कायम हुनुहुन्छ ।
पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या दुई पुगेको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसक्नुभएको छ । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट हुनुभएको हो । चीनको ताइवानमै भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गर्नुभएको थियो । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच