बझाङ । बझाङको बुंगल नगरपालिका –१ गोइचनमा रहेको गोइचन गाड लघु जलविद्युत आयोजना विगत दुई वर्षदेखि बन्द छ । २०६५ सालमा सप्रोज नेपाल संस्थाले निर्माण गरेको १६ किलोवाट क्षमताको गोइचन गाड लघु जलविद्युत आयोजनाको विद्युत सेवा दुई वर्षदेखि बन्द हुँदा बुङ्गल नगरपालिका वडा नम्बर १ गोइचनका २०० परिवार अन्धकारमा बस्न बाध्य भएका छन्।
जलविद्युत बन्द हुँदा गोइचनका बासिन्दा दुई वर्षदेखि अन्धकारमा रात बिताउन बाध्य रहेका छन । गाउँमा भएको गोइचन गाड लघु जलविद्युत करिब दुई वर्षदेखि अवरुद्ध भएपछि आफूहरूले सास्ती खेपिरहेको स्थानीय बिर्ख बोहराले बताउनुभयो ।
‘विद्युत सेवा अवरुद्ध भएपछि अन्धकार रात त यहाँको दैनिकी नै भयो। दैनिक जसो गरिने कामकाज पनि प्रभावित बनेका छन् । उहाँले भन्नुभयो, विद्युत सेवा बन्दहुँदा विद्यार्थीलाई लेखपढ गर्न, मोबाइलमा चार्ज गर्न लगायत अन्य कामहरूमा पनि समस्या भएको छ । दुई वर्ष पहिले विद्युतको मेसिनमा समस्या आएको र आर्थिक अभावका कारण मर्मत गर्न नसक्दा स्थानीयले अन्धकारमा रात बिताउनु परेको निर्माण समितिका पूर्व अध्यक्ष रामबहादुर बोहोराले बताउनुभयो ।
विकट ठाउँ भएका कारणले गर्दा निर्माण तथा मर्मत सामाग्री पाउन झन्झटिलो हुने र सामान नपाइने कारणले गर्दा बिग्रिँदा तत्काल बनाउन नसकिने उहाँले बताउनुभयो । दुई अगाडिनै बाढीको कारण विद्युतमा क्षति भएको र मेसिन बिग्रिएका कारण विद्युत बन्द भएको हो । आफूहरूले विद्युत बन्द भएपछि मर्मतका लागि बुंगल नगरपालिका लगायत अन्य निकायमा पनि पहल गरेको भएपनि कुनै पनि निकायबाट सुनवाई नभएको गोइचन गाड जलविद्युत आयोजनाका अध्यक्ष नरसिंह बोहराले बताउनुभयो ।
त्यसैगरी बुङ्गल नगरपालिका वडा नम्बर १ गोइचन बासीहरूले विगत ६ महिनादेखि कालङ्गा नदीमा पुल नहुदाँ सडकबाट पनि बञ्चित हुनुपरेको छ । सडक बन्द हुँदा स्थानीयले तीन घण्टा पैदल हिनेर खाद्यान्न तथा दैनिक उपभोग्य सामान ढुवानी गर्नु परेको र गाउँका कोही मानिस बिरामी हुँदा तथा गर्भवती महिलालाई अस्पताल सम्म लिन समस्या हुने गरेको स्थानीय युवा बिर्ख बहादुर बोहराले बताउनुभयो ।
यस विषयमा बुंगल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कस्वा बोहराले भने वडामा कम बजेट भएको कारण बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । साथै उहाँले त्यहाँका जनतालाई अन्धकारमा राख्न नहुने बताउँदै अब कालगां हाइड्रो पावर बाट बिजुली जोड्नका लागि पहल गरिरहेको बताउनुभयो ।







